स्वास्थ्य क्षेत्रको विकास भन्नेबित्तिकै अस्पतालको भवन बनाउने र अस्पतालमा शय्या थप्ने निर्णय गरिहाल्ने जनप्रतिनिधि र कर्मचारी देखेर आजित भएका पूर्व स्वास्थ्यमन्त्री गगन थापासामु २०७३ सालमा स्वास्थ्यमन्त्री बन्दा अनेक चुनौतीहरु थिए । बिरामी र अस्पतालको बीचमा गुमनाम रहेको स्वास्थ्य प्रणालीप्रति जनताको विश्वास जगाउनको लागि उनले स्वास्थ्य मन्त्रीको हैसियतले केही न केही गर्नैपर्ने अवस्था थियो । समस्याबारे उनी परिचित थिए भने त्यसको समस्याको खाका पनि उनीसँग थियो । थापाले त्यतिबेला परिकल्पना गरेर अघि बढाएको भिन्नखाले स्वास्थ्य प्रणालीको अवधारणा अहिले काठमाडौं महानगरपालिकाको वडा नं ३० मा कार्यान्वयनमा आएको छ । जसकोबारेमा शनिबार यसका परिकल्पनाकार पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रस्तुतीकरण मार्फत् सार्वजनिक गरे ।
मान्छे सामान्य बिरामी हुँदा पनि सिधै अस्पताल पुग्छ । सम्भावित दीर्घरोग बारे समस्या नपरेसम्म परीक्षण गराउँदै र समयमा परीक्षण नहुँदा उपचारको लागि ठूलो धनराशी खर्चगर्नुपर्ने अवस्थामा पुग्छ । यसको लागि के गर्ने त ? तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले २०७३ मा एउटा अवधारणा ल्याए । बिरामीलाई अस्पतालभन्दा तल्लो स्वास्थ्य प्रणालीप्रति पनि विश्वास दिलाउने र त्यसैबाट सेवा सुरु गर्ने । यसमा हरेक घरमा रहेका बालबालिका, ज्येष्ठनागरिक, दीर्घरोगी आदिको तथ्यांक स्वास्थ्य संयन्त्रसँग हुन्छ र उनीहरुलाई समयसमयमा घरमै पुगेर स्वास्थ्य परीक्षण र आवश्यक स्वास्थ्य सेवा दिइन्छ । जसले गर्दा संविधानमा उल्लेख भएको निःशुल्क स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन हुने र नागरिकको उपचारको लागि अहिले राज्यले जति आर्थिक भार व्यहोरिरहेको छ, त्यसमा पनि न्यूनीकरण हुने अपेक्षासहित गगन थापाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा ल्याएका थिए ।
त्यसो मन्त्री हुनुभन्दा अघि नै श्रीलंका, भारत लगायतका मुलुकहरुले शहर केन्द्रित सामुदायिक स्वास्थ्य केन्द्र र क्लिनिक सञ्चालनमा गरेको विभिन्न प्रयास र अभ्यासबारे अध्ययन गरेका थापाले नेपालमा पनि यस्तै स्वास्थ्य प्रणालीको आवश्यकता महसुस गरिसकेका थिए । तर स्वास्थ्यमन्त्रीकै जिम्मेवारी सम्हालिसकेपछि भने उनले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन निर्देशिका नै तयार पारेर सुरुको चरणमा आफ्नै निर्वाचन क्षेत्र पर्ने काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकामा यसको परीक्षण गर्ने निर्णय गरे । वि.सं. २०७३ चैतमा काठमाडौं महानगरसँग ११ स्थान र बुढानीलकण्ठ नगरमा एउटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनको लागि सम्झौता र स्रोत व्यवस्थापन समेत भएको थियो । काठमाडौं महानगरपालिकाको वडा नं ७ बाट यो केन्द्रको शुभारम्भ पनि भयो । तर स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आएर त्यो प्रणालीको अपव्याख्या गर्दै त्यसको कार्यान्वयन अघि बढाएनन् ।
स्वास्थ्य मन्त्रीको रुपमा रहँदा योजना माग्न आउने जो कोहीले पनि १५ शय्याभन्दा मुनिको अस्पताल मात्रै माग्ने तर अस्पताल र बिरामीको बीचमा रहेको अरु स्वास्थ्य प्रणालीबारे जानकारी नभएपछि यसलाई कार्यान्वयन गरेरै अरुलाई पनि सकारात्मक सन्देश दिन सकिन्छ भन्ने उद्देश्यले काठमाडौं र बुढानीलकण्ठमा यसको परीक्षण गर्न लागिएको थापा बताउँछन् । थापा भन्छन्, अस्पतालभन्दा मुनि पनि अनेक स्वास्थ्य संयन्त्रहरु हुन्छन् । तर किन सबैले अस्पतालकै माग राख्छन् ? सरकारलाई आर्थिक भार कम गर्न र नागरिकलाई सस्तोमा सुलभ सेवा दिनको लागि यो अवधारणा अति उत्तम उपाय हो ।
Comments