बिसु कुमार के.सी. निरन्तर लेखिरहने नाम हाे । कविता, गजलदेखि समसामयिक लेख रचना आदिमा के.सी. काे कलम हरदिन चलिरहेकाे हुन्छ । नेपाल सरकारकाे उपल्लाेतहकाे कर्मचारी भएर अवकाशपछिका दिनमा के.सी. का कलमा झनै सशक्तरूपमा चलिरहेकाे छ । उनकाे एक कविता संग्रह प्रकाशित छ ।
‘बिग्रेको क्यामरा ‘
- बिसु कुमार के.सी.
बिर्सेछ कि यसले फोटो खिच्न
या बिग्रियो ठाँडो !
अचेल मेरो क्यामेराले
मेरो गाउँको तस्वीर
बेग्लै खिच्न थालेको छ ।
अस्ति अस्तिका वर्षहरुमा त
हरिया फाँट
रोपाइ गरि हेका रोपारहरु
जोतिरहेका हलिहरु
झुलीरहेका धानका वाला
फुलीरहेका काँसका फुलहरु
पो देखिन्थ्यो
यहि क्यामेराले खिचेका
मेरो गाउँका फोटाहरुमा ।
अचेल त
रंग संयोजन नमिलेका चित्र
जस्तो
सुरताल नमिलेका कर्कस धुन
जस्तो
लहर नमिलेका गंजागोल
कंक्रिटका जंगलजस्ता
दृश्य मात्र खिच्छ
मेरो क्यामेराले
मेरो गाउँको फोटो ।
खोला खुलुम्खुल्ला थिए
क्क्लकल पानी बग्थे
वर्षामा पौडी खेलिन्थ्यो
हिउदमा बल्छी हालिन्थ्यो
माछा मारिन्थ्यो
बारीका पाटैपाटा हामफालेर
खेलिन्थ्यो
फलफुल टिपेर
बोक्रै नताछी दारिन्थ्यो !
त्यति बेला क्यामेरा थिएन
नत्र फुटु
खिचेर राख्नु हुन्थ्यो ।
अहिले त मेरो क्यामेरा
खोलातिर तेर्स्याउँदा
ढलको फोटो खिच्छ,
हेर्दा पनि गन्हाउने
मल बगेको दृश्य देखाउँछ !
लाजले सडक ओडेको रहेछ
खोलाले !
त्यसै माथी धुँवा र धुलो उडाउदै
मोटर गुडेको
निसस्सिने भिडियो खिच्छ
मेरो क्यामेराले ।
यहि क्यामेराले खिचेको
त्यो फोटो
आझै पनि मनभित्रै टाँसेको छु
मैले जसमा,
हरिया पाखामा गाई बस्तु
चरीरहेका
गोठालाहरु रमाईरहेका,
केटाकेटी खेलीरहेका,
तन्नेरीहरु छिल्लिरहेका,
पाकाहरु गफ्फिरहेका,
बटुवाहरु हिडिरहेका,
भरियाहरु भारी बिसाएर,
थकाई मारीरहेका,
आदि मनोहारी जीवन्त दृश्य छ ।
अहिले मेरो क्यामेरबाट हेर्दा
त्यै पाखामा
कतै डोजरले पहिरो खनेको
कतै बनमाराले ढाकेको
अनि कांढेतारले बारेको घेराभित्र
सिपाहीहरु परेड खेलिरहेको
कोहि कोहि बटुवा
सतर्क र शसंकित भएर
हिँडिरहेको
यस्ता पो दृश्य देखिन्छ !
साच्चै मेरो क्यामेरा बिग्रिए छ
मर्मत नै नहुने गरेर
कि यी दृश्यहरु नै बौलाए छ्न !
कुनै चिकित्सकले उपचार गर्न
नसक्ने गरि ।
अचेल मेरो क्यामेराले
मेरो गाउँको तस्वीर
बेग्लै खिच्न थालेको छ ।
Comments