प्रकृतिवातावरणसमसामयिक

ललितपुरमा अबैध तथा मापदण्डविपरित उत्खननः वातावरण विनाश र बस्ती जोखिममा

0

ललितपुरको गोदावरी नगरपालिकाको टिकाभैरव क्षेत्रमा नल्लु खोलाको पुलसँगै ढुंगा, गिट्टीको खानी र क्रसरको लाम सुरु हुन्छ। पुलसँगै खानीमा उत्खनन गरिरहेका र ढुंगा तथा गिट्टीजस्ता निर्माण सामग्रीको प्रशोधन गरिरहेका थुप्रै क्रसर उद्योगहरु खोलाकै किनारमा छन्। ५० वर्षका कृष्णबहादुर नगरकोटी यो मात्रामा क्रसर उद्योगको संख्या हालै बढेकाे बताउँछन्। अत्यधिक मात्रामा क्रसर उद्योग खुल्नु र वातावरणीय क्षति पनि बढ्नु सँगसँगै भएको उनी बताउँछन्। ‘क्रसर आउनुअघि त्यो पहाड पूरै हरियाली थियो,’ कृष्ण भन्छन्, ‘अहिले त्यो पहाड आधा काटिसकेको छ।’

कृष्ण आफू पनि आम्दानीका लागि क्रसरसँगै आवद्ध भएर काम गर्छन्। उनी नल्लु खोलामा ढुंगा फुटाउने काम गर्छन्, जसलाई क्रसर उद्योगले खरिद गरेर लैजाने गरेको छ। जिल्ला समन्वयन समिति (जिसस) ललितपुरका अनुसार यो क्षेत्रमा ६० देखि ६५  वटा क्रसरहरु छन्। गृह मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेको एक अध्ययनअनुसार ललितपुर जिल्लाभित्र कुल ६३ वटा क्रसर रहेका छन्। यीमध्ये स्थानीय तहमा दर्ता भएर सञ्चालनमा रहेका क्रसरहरु ३१ वटा छन् भने ३२ वटा बिना दर्ता सञ्चालन भइरहेका छन्।

तर, हाल गृहले गरेको अनुगमनका आधारमा देखिएको भन्दा धेरै क्रसर रहेको ललितपुर जिससका प्रमुख ऋषि देव फुयाँल बताउँछन्। उनी भन्छन्, ‘६० देखि ६५ वटा क्रसर सञ्चालनमा छन्। यीनिहरु अहिले नवीकरणका लागि आएका छन्। तर, वर्षाको समयमा अनुगमनको काम हुन सकेको छैन । केही समयमा नै अनुगमन सुरु गर्छौं।’

निरन्तर गिट्टी बालुवाको उत्खननका कारण ललितपुर क्षेत्रमा रहेका यी क्रसरहरुले वातावरण र बस्तीमा प्रभाव पारेका छन्। केही वर्षअघिसम्म हरिया रहेका पहाडहरु अहिले क्रसरका लागि आवश्यक गिट्टी बालुवाको उत्खननका कारण नांगिदै गएको देखिन्छ। नल्लु खोला किनारमा बस्ने स्थानीय अनन्त तामाङले चार वर्षअघि पाँच वर्षका लागि आफ्नो जग्गा क्रसर उद्योगलाई भाडामा दिएका थिए। नल्लु खोलाको किनारबाट अघिल्तिर रहेको उनको जग्गा डाँडाको रुपमा रहेकाले क्रसरलाई सम्याउनका लागि दिइएको उनी बताउँछन्। हाल उनको जग्गासँगैको पहाडको आधा भाग क्रसरले उत्खनन गरिरहेको छ।

‘मेरो जग्गा पाँच वर्षका लागि भाडामा दिएको हो,’ अनन्त भन्छन्, ‘क्रसर उद्योगले जग्गा सम्याइदिने भनेपछि पाँच वर्षलाई भाडामा दिएका थियौं। अहिले चार वर्ष भयो। हाम्रो भागको जग्गा रहेको आधा पहाड क्रसरले खनेको छ।’ अनन्त आफैं पनि क्रसर उद्योगमै टिपर चलाउने काम गर्छन्। नल्लु किनारमा रहेका विभिन्न क्रसरको आवश्यकताअनुसार आफ्नो टिपरमा ढुंगा गिट्टी बोक्ने गरेको उनी सुनाउँछन्। भन्छन्, ‘हामी यही खोला किनारमा बसेर क्रसरमै काम गर्छौं। पोहोरसम्म वर्षाको बेला माथिको पहाडबाट भेल आएर बस्न गाह्रो हुन्थ्यो। यो वर्ष माटो बसेकाले होला पहिलेको जस्तो भएको छैन।’

त्यस्तै, माथिल्लो बुरुन्चुलीस्थित डुकुछाप क्षेत्रमा केही समयअघिसम्म क्रसर सञ्चालनमा थिए। सोही क्षेत्रका अनिल बजगाईं (नाम परिवर्तन) ले आफ्नो जमिन छेउमा क्रसर आएसँगै पहिराेको समस्या हुने जोखिम भएकाले जग्गा बेचे ।‘हामी त्यता जग्गा भए पनि यता काठमाडौंमा बसिरहेका थियौं,’ उनी भन्छन्, ‘हाम्रो जग्गाकै छेउमा क्रसरहरु खुलेपछि त्यो जग्गा राख्दा पहिराे जाने समस्या देखेपछि क्रसर उद्योगकै सञ्चालकलाई जग्गा बेचिदियौं।’

बजगाईं आफूसँग भएको तीन रोपनी जग्गा बेचेको बताउँछन्। सात रोपनी जग्गा भोगचलन गरिरहेका बजगाईंले क्रसरका सञ्चालकहरुलाई तीन रोपनी जग्गा बेच्न बाध्य भएको बताए। उनी भन्छन्, ‘आफ्नो जग्गाको एक पाटोमा क्रसरले खनेपछि हाम्रो जमिनमा पनि पहिरो गएर खस्ने जोखिम बढ्यो। त्यसैले क्रसरकै सञ्चालकलाई बेच्न बाध्य भयौं।’

जनै पुर्णिमा !

Previous article

वर्षामा पनि पानी नपर्दा बाँकेकाे नरैनापुर गाउँपालिका सुख्खाग्रस्त क्षेत्र घाेषणा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *