राजी जातिको मुख्य बसोबास सुर्खेतमा छ। भेरी नदीको किनारमा बसोबास गर्ने यो जातिको मुख्य सीप नदीमा माछा मार्ने र डुंगा चलाउने हो। नदीमा डुंगा चलाएर मानिसहरूलाई वारपार गराउन राजीहरू सिपालु र दक्ष मानिन्छन्। साथै जाल बुन्ने र नदीमा माछा मार्ने राजीहरूको मुख्य पेशामा पर्छ। तर, पछिल्ला दिनमा उनीहरूको यो पेशा हराउँदै जान थालेको छ।
राजीहरू आफूलाई फान जाति भनेर भन्छन्। उनीहरू नदीको छेउछाउका बगरमा बसोबास गर्छन्। जुनसुकै जिल्लामा बसोबास गरेका राजी जातिले आफ्नो पुख्र्याैली पेसालाई विस्तारै छोडेर खेतीमा जोडिन थालेका छन्। हिजोआज अन्य जातिका मानिसहरू पनि नदी छेउछाउमा बस्ती बस्न थालेको, उनीहरूले पनि माछा मार्न र डुंगा चलाउन थालेपछि राजीहरूको पेशा संकटमा पर्न थालेको हो।
‘पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न अब सम्भव भएन’ राजी साल्म समाज सुर्खेतका अध्यक्ष अशोक राजी भन्छन्, ‘नदीमा पुल बनेपछि डुंगा चलाउने काम बन्द भयो, नदी किनारमा बस्ने अन्य जातीले पनि माछा मार्न थालेपछि राजीहरू विस्थापित हुन थाले।’ राजीहरू नदीमा सुन चाल्ने काम पनि गर्थे।
तर, हिजोआज उक्त पेसाबाट आम्दानी हुन छाडेको छ। परम्परागत सीप र पेसाले जीविकोपार्जन गर्न समस्या भएपछि हिजोआज राजीहरू आधुनिक पेशातर्फ आकर्षित हुन थालेका छन्। राजीहरूको परम्परागत सीपको संरक्षणमा स्थानीय सरकारले बजेट बिनियोजन गर्नुपर्ने, उनीहरूलाई उत्प्रेरित गर्नुपर्ने र उक्त सीपलाई आधुनिकतासँग जोड्नेपर्ने राजी समुदायका अगुवाहरू बताउँछन्।
Comments