राजनीतिराष्ट्रिय

विपीकाे बिजाेग !

0

  • कुमार लुइँटेल

कुच्रुक्क परेको ठाउँ । नजिकै हार मिलाएर राखिएका सिमेन्टका थोत्रा बोरा । तिनै बोरालाई थिचेर राखिएको छ अनावरण गर्दा ताकाको शिलालेख । रङ मेटिएको अनि फोहोरी भित्ता माकुराको जालोले घेरिएको छ । त्यहीँ छ एउटा अध्याँरो कोठा । यसैको देब्रेतिरबाट मास्तिर उक्लने सिँढी छ । त्यसको ठिक उत्तरपट्टीको शौचालयबाट एकतमासको गन्ध आइरहन्छ ।

दोस्रो र तेस्रो तलामाथिसम्म पुग्ने यही सिँढीको एउटा कुनामा बेवारिसे अवस्थामा मिल्काइएको देखिन्छ एउटा अर्धकदको प्रतिमा । फ्रेन्चकट दाह्री र कालोकोटमा चस्मा लगाएको यो प्रतिमा अरु कसैको नभएर कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको हो । ‘बीपीलाई महामानवको रूपमा लिने र आफ्नो आदर्श मान्ने’ सयौं कांग्रेसजन उनैको प्रतिमालाई सिँढीमुनि पारेर नाघ्दै हरेक दिन माथिल्लो तला उक्लन्छन् ।

दोस्रो तलामा सभापतिसहित पदाधिकारी बस्ने कोठा छन् । तेस्रो तला भने निर्माणाधीन छ । त्यहाँ ‘एटेच ट्वाइलेट बाथरुम’ सहितका अतिथि बस्ने कोठाहरू बनाइँदैछ ।  विराटनगरस्थित नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिको भवनको भुइँतलाको यो दृश्य टिठलाग्दो देखिन्छ ।

केही अघिसम्म बीपीको यो प्रतिमा कांग्रेस पार्टी कार्यालयको परिसरमा थियो । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले प्रतिमा अनावरण गरेका थिए । तर, पार्टी कार्यालय परिसरमा सभा–सम्मेलनसमेत गर्न सहज होस् भनेर फलामको ट्रस्टसहितको संरचना बनाइयो । त्यसपछि पिलर भत्काइयो अनि प्रतिमा उखेलेर सिँढीमुनि मिल्काइयो ।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले प्रतिमाको अनुहार बीपीको अनुहारसँग नमिलेको भन्ने कार्यकर्ताबाटै गुनासो आएपछि हटाइएको दाबी गरेका छन् । “अब पूर्वपट्टीको खाली भागमा बीपीसहित कांग्रेसका संस्थापक नेताहरूको प्रतिमा राख्ने तयारी गरेका छौँ,” उनले भने, “चाँडै यो काम पूरा गर्ने र मूर्तिहरू पुनर्स्थापित गर्ने हामीले तयारीसमेत थालिसकेका छौँ ।”

बीपीलाई बेवारिसे अवस्थामा सिँढीमुनि छाडिएको धेरै समय बितिसक्यो । मोरङ कांग्रेसले प्रजातन्त्र प्राप्तिको आन्दोलनको बिगुल फुकेको र बीपीको गृहजिल्ला पनि हो । अहिले पनि यहाँस्थित कोइराला निवासलाई देशभरका कार्यकर्ता र कांग्रेस आस्था मान्नेहरूले हस्ती नेता जन्माउने कर्मथलो मानेर घुम्न पुग्छन् । तर, बीपीको प्रतिमालाई सम्मानित ठाउँमा राख्ने र व्यवस्थित गर्न कांग्रेसजनले किन ध्यान नदिएको ? भन्ने प्रश्नमा सचिव घिमिरेले भने, “नयाँ संरचना बनाएर व्यवस्थित गर्छौँ ।”

मधेस आन्दोलनका बेला उखेलिएको मोरङको कर्सिया चोकस्थित बीपीको प्रतिमा पुनर्स्थापित गर्न प्रयास भएको पाइँदैन । त्यहाँ पूर्णकदको प्रतिमा उखेलिएपछि अहिले प्रतिमाको एउटा खुट्टामात्र देखिन्छ । कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरकै पूर्वपट्टीको खुला भवनमा स्थापित कांग्रेस नेतृ नोना कोइरालाको अर्धकदको प्रतिमाको पनि उचित रेखदेख हुन सकेको छैन । धुलोले पुरिएको प्रतिमाको सरसफाइमा ध्यान दिइएको पाइँदैन । बाह्रखरी

बुनपा किर्ते मतदाता काण्डमा स्थानीय काँग्रेसकाे असाधारण आलस्यता ! विज्ञप्तिसम्म निकालेन

Previous article

माेरङकाे मिक्लाजुङमा नयाँ प्रजातिकाे छेपाराे भेटियाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *