प्रकृतिराष्ट्रिय

पुरातात्त्विक र ऐतिहासिक दुवै महत्त्व भएको नायल गढी र ताल ओझेलमा

0

कञ्चनपुरको कृष्णपुर नगरपालिका बंकदेखि २२ किलोमिटर माथि चुरेको मध्य भागमा रहेको यो गाउँ पुरातात्त्विक र ऐतिहासिक मात्र होइन, प्राकृतिक रूपमा पनि त्यत्तिकै महत्त्वको छ । चारैतिर चुरेले घेरिएको उपत्यका जस्तो देखिने नायलमा दक्षिणदेखि उत्तरतिर पानी ढाल भएको झन्डै एक किलोमिटर लामो अद्भूत तालले यसलाई अझ आकर्षक बनाएको छ । कुनै समयका नौ वटा ताल अहिले खेती गर्ने फाँटमा परिवर्तन भएका छन् । आँप पनि फल्ने, काफल पनि पाक्ने, सुन्तला पनि फल्ने र चिउरी पनि पाक्ने भिन्नै मौसम भएको गाउँ पनि हो नायल ।

पुरातात्त्विक र ऐतिहासिक दुवै महत्त्व भएको नायल गढीका विषयमा धेरैलाई जानकारी नै छैन । वर्तमान नेपालको सीमाभित्र मुगलकालीन एकमात्र दरबार क्षेत्र भएको यही गाउँ हो । मुगलकालीन राजाहरूले तराई मात्र नभई प्राचीन मानस खण्ड क्षेत्रका राज्य जित्न दरबार स्थापना गरी राज्य विस्तार गर्न नपाउँदै डोटेली सेनाले भीषण युद्ध लडेर मुगलहरूलाई गोमती नदीपारि धपाएका लोककाव्य भडा र देउडामा अहिले पनि गाइने चलन जीवित छ ।

पूर्वपट्टि सहजपुर गढी, दक्षिणपट्टी तारागढी, उत्तरतर्फ बड्डीकोटगढीको बीचमा सुरक्षित स्थानमा स्थापना गरिएको यो गढीमा बसेर लखनउका नवावका प्रतिनिधिले यस क्षेत्रमा लामो कालखण्ड राज्य गरेको इतिहासकार भोजराज भट्टराईले इतिहासमा उल्लेख गरेका छन् ।

बृहत् डोटी राज्यको सिमाना गोमती नदी कायम भएको यो लखनउका नवासँगको लडाइँ विक्रम संवत् १६०४ को हो । बृहत् डोटी राज्य टुक्रिनुअघि नै भएको यस लडाइँका विषयमा सुदूरपश्चिम दिग्दर्शनमा पनि उल्लेख गरिएको पाइन्छ । तत्कालीन डोटी राज्यका सैन्य कमान्डरहरू देव अवस्थी, बहादुर बलायर, जीवा कठायत र पिरी बोहराको नेतृत्वमा उक्त युद्ध भएको इतिहासकारहरूले उल्लेख गरेका छन् । यसअघि लखनउका नवावका छोरा सहजादले यही गढीमा बसेर राज्य सञ्चालन गर्थे । यो युद्धमा नेपालीहरूले हराएपछि मुगलहरू गोमती नदीपारि धपाइएका हुन् । यो भूभाग नेपालले सुगौली सन्धिमा गुमायो र पछि लखनउ विद्रोह दमन गर्न सहयोग गरेबापत अंग्रेजहरूले जंगबहादुरलाई नयाँ मुलुक फिर्ता दिएको हो ।

नायल गाउँमा रहेका धेरै पुरातात्त्विक अवशेषहरू पुरिइसकेका छन् । गाउँदेखि उत्तरपट्टिको टाकुरामा रहेको मुगलकालीन दरबारको अवशेषमध्ये केही पुरिएका ढुंगाबाहेक केही छैन । तर टाकुराबाट नायल तालसम्मको झन्डै डेढ किलोमिटर लामो गुफा अहिले पनि उस्तै छ । स्थानीय वृद्ध कमलसिंह बोहराले भने, ‘केटाकेटी छँदा गुफाको भित्रैसम्म पुग्थ्यौं तर पछि बिस्तारै बन्द हुँदै गयो । दरबार पनि पुरिँदै गएको हो,’ उनले भने, ‘बुबाहरूलाई दरबारको राम्रै सम्झना थियो । संरक्षण हुन सकेन ।’ बोहराका अनुसार तराई, पहाड जाने मूल बाटो भयो, धेरै पुरातात्त्विक महत्त्वका संरचना भत्किँदै गए, अहिले त नाम मात्र छ । उक्त क्षेत्र उत्खनन गर्ने हो भने अहिले पनि धेरै पुरातात्त्विक महत्त्वका सामग्री पाउन सकिने स्थानीयको भनाइ रहेको छ । दरबार क्षेत्रदेखि केही तल ताल, तालदेखि तल रानी झरना, गुफा र सिद्ध भगवतीको मन्दिर अहिले हेर्न सकिने दर्शनीय स्थल हुन् । यो पुरातात्त्विक महत्त्वको क्षेत्रको संरक्षण र विकासका लागि पहल हुन नसकेको गुनासो स्थानीयको छ । कञ्चनपुरको बंकदेखि निर्माणाधीन बंक—नायल सडक निर्माण सुरु भएको ७ वर्ष भइसक्दा पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

प्रदेश सरकारले यो सडकलाई प्रदेश गौरवको योजनामा मात्र राख्यो तर सडक निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । स्थानीय अगुवा दिलबहादुर बोहराले पञ्चायतकालमा खड्कबहादुर सिंहले राजनीति गरेका कारण भीमदत्त राजमार्गको सर्भे नायल हुँदै बुँडर भए पनि सहजपुरबाट निर्माण भएको गुनासो गरे । उनले भने, ‘पञ्चायतमा खड्कबहादुर सिंहले ठगे अहिले एमाले नेता लेखराज भट्टले ठगे ।’

प्रकृति संरक्षक सर्प: धर्मदेखि औषधिसम्मकाे महत्व

Previous article

धुर्काेट गाउँपालिकाले १७६७ राेपनी बाँझाे जमिनमा फलफूल र अन्न बाली लगायाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *