विचार/लेखसाहित्य

के हाे पूर्वजन्म र पूनर्जन्म ?

0

  • यादव देवकाेटा

वैदिक धर्म, संस्कार, संस्कृति र शास्त्रमा पूर्वजन्म र पुनर्जन्मलाई विशेष महìव दिइएको छ। पुनर्जन्मसँग सम्बन्धित अनेक कथा र पात्र वेद– पुराणमा लिपिबद्ध गरिएका छन्। वेदमा मानवको शरीर मात्र अन्त्य हुने हो आत्मा अमर हुन्छ भन्ने मान्यता स्थापित गरिएका छन् र आत्मासँग कुरा गर्ने विधि (मन्त्र) लिपिबद्ध गरिएको छ। गाउँघरमा अहिले पनि अकालमा मृत्यु भएका, आत्महत्या गरेकाहरूसँग विशेष तान्त्रिक विधिद्वारा मृतकको आत्मा अरूको शरीरमा प्रवेश गराएर कुराकानी गरिन्छन्। आधुनिक विज्ञानले पनि आत्मासँग कुरा गर्ने प्रविधिका विकास गरेको र यो सफल पनि भएको समाचार दशकअघि नै सार्वजनिक भएको थियो।

वैदिक शास्त्रमा मानिसको मृत्युलाई उसको व्यक्तित्व समाप्तिको अर्थमा लिइँदैन। मानिसको मृत्यु भनेको शरीरको अन्त्य मात्र हो अस्तित्व (आत्मा) मरेको होइन भनिन्छ। मानिसको गुण र दोष केलाएर, उसको कर्म, कृति अनि सेवालाई हेर्ने हो भने ऊ अमर छ। पूर्वीय सभ्यतामा मात्रै हैन पश्चिमा सभ्यतामा पनि यो सम्भव छ। वैदिक विद्वान्का अनुसार मृत्यु भनेको हामीले जुन रूपमा त्यस व्यक्तिलाई जानेका थियौँ त्यस सन्दर्भमा मात्रै ऊ यहाँ नभएको हो, तर उसको अस्तित्व अझै पनि यहीँ रहेको हुन्छ। भौतिक शरीर छोडिन्छ, तर मानसिक शरीर र प्राण शरीरको अस्तित्व रहिरहन्छ।

पूर्वजन्म वा पुनर्जन्मको सम्बन्धकै कारण अनायासै दुई व्यक्तिबीच विशेष सम्बन्ध स्थापित हुन पुग्छ। यस्तो प्रवृत्ति विशेष गरी बालबालिकामा देखिन्छ। कोही बालबालिका पहिले देख्दै नदेखेको मानिससँग एउटै भेटमा झुम्मिएर निकै पुरानो सम्बन्ध भएको जस्तो व्यवहार गर्छन्। यो पूर्वजन्मको प्रभाव हो भन्ने शास्त्रीय ज्ञाताको भनाइ छ।

हामीले देखेकै पनि हुनुपर्छ कि हाम्रो घरमा कोही पाहुना आएका छन् भने कोही कोहीसँग हाम्रा साना नानी बढी झुम्मिन्छन् भने कोहीसँग तर्किन्छन्। अझ घरकै परिवारका सदस्यसँग पनि यो व्यवहार लागू हुन्छ। कतिपय अवस्थामा बाबुसँग नजिक हुने तर आमासँग अलिक टाढिने वा आमासँग नजिकिने, बाबुसँग टाढिने पनि हुन्छ। यसको एउटा विशिष्ठ कारण हुन्छ– सम्बन्धको पूर्व परिचय। अर्थात् यसलाई पूर्वजन्मसँग जोड्न सकिन्छ।

के भनिन्छ भने– बालबालिकामा कुनै छलकपट, ईश्र्या, द्वेष हुँदैन, निश्चल मनले मानिसको आत्माको गहिराइ छाम्ने क्षमता हुन्छ। आफूलाई माया गर्ने र नगर्ने छुट्याउन सक्ने क्षमता उनीहरूमा हुन्छ। त्यसैले बालबालिकामा भगवान्को बास हुन्छ भनिन्छ। यही भगवान्को बास अनि निश्चल मनकै कारण उसले आफ्नो पूर्वजन्मको नातालाई चिन्ने क्षमता राख्छ पनि भनिन्छ। त्यसकारणले नै हो कुनै कुनै बालबालिका कुनै एक व्यक्तिसँग अति निकट रहन्छन्।

जस्तो कि– बालबालिकाले विद्यालय, छरछिमेक वा अन्यत्रकै व्यक्तिसँग एकाएक विशेष सम्बन्ध राख्न पुग्छ भने त्यो उनीहरूको पूर्वजन्मको नाता हो भन्ने बुझ्न सकिन्छ। उसलाई आफूलाई जन्म दिने आमाबाबुभन्दा बढी विश्वास, माया र भरोसा त्यो व्यक्तिसँग हुन्छ। यस्ता अनेक घटना हामीले सुनिरहेका छौँ। मस्तिष्कको तरङ्ग प्रवाहित भएर पनि कुनै एक मानिस अर्को मानिससँग एकाएक नजिकिन पुग्छ। यसलाई पूर्वजन्मको सम्बन्धका रूपमा लिइन्छ।

आधुनिक समाजको अति व्यस्त समय र बाबुआमा वा अभिभावक आफ्नो व्यक्तित्व विकासका लागि मात्रै सक्रिय रहने परिपाटी छ। यसले गर्दा बालबालिकालाई समय दिन नसक्ने हुँदा उनीहरू माया, संरक्षण र सुरक्षाको खोजीमा रहने क्रममा आफूलाई मनपरेका मानिससँग नजिकिने गर्दछन्। यसलाई मान्ने हो भने पनि किन सबैसँग त्यस्तो हुँदैन र कोही कोहीसँग मात्र किन हुन्छ भन्ने सन्दर्भ पूर्वजन्मको सम्बन्ध वा नातासँगै जोडिएर आउँछ। विगतमा केही न केही सम्बन्ध थियो, केही न केही काम अधुरो थियो, त्यसैलाई पूरा गर्न मानिसको पुनर्जन्म हुन्छ भन्ने मान्यताअनुसार नै व्यक्तिको सम्बन्ध र कर्मको आकलन गर्न सकिन्छ।

व्यक्तिले कुनै दृढ प्रतिबद्धता गरेको छ र उसले त्यो पूरा गर्न सकेन भने पटक पटक जन्म लिएर आफ्नो आकाङ्क्षा वा प्रतिबद्धता पूरा गर्छ भन्ने शास्त्रीय मान्यता छ र यसको दृष्टान्त महाभारतमा पनि छ। द्वापरयुगमा काशी नरेशकी पुत्री अम्बाले इच्छामृत्यको वरदान पाएका भीष्मपितामहसँग बदला लिनकै लागि ‘शिखण्डी’को रूपमा पुनर्जन्म लिएको र पाण्डव पक्षबाट युद्धमा सहभागी भएर भीष्मको मृत्युको कारण बनेको कथा महाभारतमा उल्लेख छ।

त्यस्तै महाभारतमै श्रीकृष्णले आफू पटक पटक जन्म लिने घोषणा नै गर्नुभएको छ। श्रीमद्भगवद्गीता, अध्याय ४ मा भगवान्ले घोषणा गर्नुभएको छ–

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।। परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे।।

“जब–जब धर्मको नाश हुन्छ र अधर्मको वृद्धि हुन्छ,– तब तब म आफ्नो रूपलाई रच्नेछु साथै संसारमा सबैको अगाडि प्रकट हुनेछु। सज्जनको रक्षा र पापीको विनाश गरी धर्मको पुनस्र्थापनाका लागि म युगयुगमा प्रकट हुनेछु।” संसारमा सबैभन्दा बढी भाषामा अनुवाद भएको, सबैभन्दा बढी पढिएको र संसारलाई मार्गनिर्देश गर्ने ग्रन्थ “श्रीमद्भगवद्गीता” भएकाले यसमा उल्लेखित विषयवस्तु र सन्दर्भलाई अकाट्य नै मानिन्छ। हाम्रो समाजमा देखिएका कतिपय अनौठा र अनि यसअघि नदेखिएका घटना यसैको द्योतक हो। मानिस–मानिसबीच देखाउने व्यवहार, आम मानिसले गर्नेभन्दा अलग सोच पनि पूर्वजन्ममा रहेका अधुरा कामहरूको निरन्तरता हो। यसलाई यही रूपमा बुझ्ने हो भने मानिस आफ्नो सत्कर्ममा एक जन्ममा असफल भयो भने उसले त्यो कर्म पूर्ण गर्न अर्को जन्म पनि तत्काल लिएर सम्पन्न गर्छ भन्ने हो।

मानिसको जन्म कर्मसँग जोडिएको छ। सृष्टिको एक मात्र चेतनशील प्राणी भएका नाताले मानिसको कर्म र व्यवहारमै सृष्टि धानिएको छ। चेतनशील भएकै कारण मानिसले सृष्टि संरचनालाई निरन्तरता दिन गर्नुपर्ने काम एक जन्ममा पूरा नभए अर्को जन्ममा पनि पूरा गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको हो। वेद, पुराणमा यस्ता पात्रहरू खडा गरिएका हुन्, जुन आधुनिक विज्ञानले असत्य साबित गर्न सकेको छैन। किनभने विज्ञान र प्रविधिको विकासमा उच्चगतिमा अघि बढेको अत्याधुनिक समाज भन्ने पश्चिमा पनि आफ्ना परमेश्वरले पटक पटक जन्म लिनेमा विश्वास गर्छन्। जुन भगवान् श्रीकृष्णले पनि पाँच हजार वर्ष पहिले नै उद्घोष गर्नुभएको थियो।

श्रीकृष्ण अवतार पूर्ण अवतार मानिएको छ। सृष्टि संरचना र सञ्चालनमा आइपरेको बाधा हटाउँदै त्यसको रक्षाका लागि भएका अन्य अवतारमा श्रीकृष्ण अवतार मात्रै भगवान्को पूर्ण अवतार हो। भगवान् स्वयंले आफू पटक पटक जन्म लिने बताइसकेको हुँदा मानवको मृत्युपश्चात् पुनर्जन्म हुन्छ भन्ने मिथक मात्र हैन भन्ने वैदिक सनातन धर्म, संस्कृति र शास्त्रका ज्ञाताहरूको दाबीलाई अन्यथा ठह-याउने आधार पनि अहिलेसम्म छैन। वेद समस्त ज्ञानको स्रोत भएको र वेद नै हिन्दु धर्मको आधार भएकाले हिन्दु संस्कार, संस्कृति र अभ्यासमा पुनर्जन्मलाई विशेष महìव दिइएको छ। उपनिषद्मा यस्ता अनेक सन्दर्भ छन्। वेद समस्त ज्ञानको स्रोत भएको र वेद नै हिन्दु धर्मको आधार भएकाले वेदमा पनि यस विषयमा प्रचूर तथ्यसहित मानिसको पुनर्जन्म उसको असल र खराब कर्मको आधारमा मृत्युपछि नयाँ योनीमा जन्म लिने बताइएको छ।

वेदअनुसार मृत्युपश्चात् जब पञ्चतìव आपसमा मिल्नेछन् तब जीवात्मा बचिरहन्छ र उसले दोस्रो देह धारण गर्दछ। यदि व्यक्तिले पूर्ण जीवन बिताएको छ र उसमा कुनै असन्तुष्टि बाँकी नरहेको भए मृत्युपश्चात् उसको आत्मा अमर रहन्छ।

उपरोक्त तथ्य मनन् गर्दा पृथ्वीमा भएको सृष्टिदेखि मानिसका मृत्यु र जन्मसम्मका विषयमा जेजति मान्यता समाजमा प्रचलित छन्, त्यसलाई फगत प्रचलन मात्र मान्नुपर्ने अवस्था कम्तीमा हामी नेपाली समाजमा भइरहेका अनेक अभ्यासले दिएको छैन। मानिसको शरीरमा प्रेत आत्माको प्रवेश हुने कुरा र त्यस्तो आत्मालाई बाहिर निकाल्न लक्पकाउँदो आगोको भुङ्ग्रोमा नाच्ने तान्त्रिक शक्ति र तिनै तान्त्रिकले आत्माका इच्छा, चाहना र त्यसरी शरीरमा प्रवेश गर्नुको कारणबारे कुराकानी गरेका दृश्य देख्ने यो पुस्ताका सहरबासी कमै भए पनि ग्रामीण परिवेशमा अझै यो अभ्यासमा छ।

यो अभ्यासले पुष्टि गर्ने कुरा नै मृत्यु भनेको शरीरको मात्र हो, आत्मा अर्थात् चेतनाको मृत्यु हुँदैन र समय–परिस्थिति र उसको कर्मअनुसार पुनर्जन्म हुन्छ भन्ने नै हो। यदि यस्तो हुँदैनथ्यो भने कैयौँ वर्षअघि दिवङ्गत भइसकेका बाजेको अनुहारको बान्की र बानी व्यहोरा नातिमा किन देखिन्थ्यो ? किनभने बाजेले गर्न खोजेका अधुरा काम पूरा गर्न नातिका रूपमा पुनर्जन्म भएको हो। यत्ति सामान्य कुरालाई बुझ्ने हो भने हामीले पूर्वजन्म र पुनर्जन्मका विषयमा अनावश्यक तर्क गर्नु आवश्यक छैन।

वेदले स्थापित गरेका विषय विज्ञानले प्रमाणित गरेको भए पनि सार्वजनिक वा व्यवहारमा लागू गरिएको छैन। जुन कुरा सृष्टि संरचनाको नियमअनुसार भइरहेको छ र हुनुपर्छ त्यसलाई सोही रूपमा छाड्दा नै सृष्टिमा सन्तुलन कायम रहन्छ। विज्ञानका चमत्कार भनेर सृष्टि र प्रकृतिसँग प्रतिस्पर्धामा उत्रँदा विनाशबाहेक केही हुँदैन भन्ने कुरा विज्ञानले पनि बुझेको छ। पुनर्जन्म प्रविधिका माध्यमबाट पनि गराउन सकिन्छ। जनावरहरूमा यसको परीक्षण भएको छ तर यो मानवसमाज र सृष्टि संरचनाकै लागि घातक पक्ष भएकाले यसलाई मनन् मात्र गरेर सत्कर्म गर्नु नै मानव समाजको हितमा छ।

मकैको बीउ बेचेरै मनग्य आम्दानी गर्दै फेदीखोला गाउँपालिका

Previous article

यज्ञमती र चखुन्चा खाेला मासेर ढल, खाेलामा बस्ती, बस्तीमा बाढी ! बाढीमा राजनीति !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *