काठमाडौंमै संरक्षित चराको खुलेआम उत्पादन, बिक्रीवितरण र उपभोग भइरहेको छ, तर सरोकारवाला निकाय भने चूपचाप छन्। यसरी संरक्षित चराको खुलेआम उत्पादन, बिक्रीवितरण र उपभोग भइरहँदा सरोकारवाला निकाय चूपचाप छन्। काठमाडौंको पानीपोखरीमा झण्डै दुई दशकदेखि ‘पानीपोखरी बर्ड हाउस’ सञ्चालनमा छ। पसल सञ्चालक गोरखा, आरुघाटकी बिनु गुरुङका अनुसार, त्यहाँ धेरै प्रजातिका लभ बर्ड्स, स्पिन्च भनिने सानो चरा, सेतो ढुकुर, सुगा लगायत पाइन्छन्। तिनको मूल्य न्यूनतम एक हजारदेखि १० हजारसम्म छ। “ग्राहकले धेरै महँगा चरा नखोज्ने भएकाले सस्तामै लगानी गरेका छौं,” उनी भन्छिन्।
त्यहाँबाट नजिकै डेढ महीनाअघि सञ्चालनमा आएको ‘बिक एन विंग्स’ नामक पसलमा पनि चराकै व्यापार हुन्छ। यहाँ जोडीको पाँच सय रुपैयाँमा पाइने बुनियाँदेखि आठ हजार रुपैयाँ पर्ने लभ बर्ड्ससम्म रहेको सञ्चालक बताउँछन्। स्वयम्भूमा पनि यस्तै पसल चलाइरहेका उनका अनुसार, लभ बर्ड्स जस्तै देखिने बजिज भनिने चरा धेरै बिक्री हुन्छ। “मलाई पहिल्यैदेखि चरा पाल्ने शौख थियो। पछि अरूले पनि खोजेकाले यसको व्यापार थालेको हुँ,” नाम बताउन नचाहने उनी भन्छन्।
लमजुङको राइनासका अनवर मियाँ झण्डै ४० वर्षदेखि चरा व्यापारमा छन्। काठमाडौंको स्वयम्भूमै पसल चलाइरहेका उनी अब फार्म खोल्न चाहन्छन्। “पहिले पहिले चरा भारतबाट ल्याउनुपर्थ्यो, अहिले यहीं उत्पादन हुन्छ, तराईमा पनि चरा पाल्नेहरू धेरै छन्,” मियाँ भन्छन्। उनका अनुसार, काठमाडौं उपत्यकामा मात्रै पसल थापेर बसेका र घुम्ती गरी ६० जना जति चरा व्यापारी छन्।
शौखका रूपमा अरू प्रजातिका जङ्गली चरा पनि घरघरमा पालिंदै छन्। ती चरा कानूनी रूपमा पाल्न मिल्ने हुन्/होइनन् भन्ने हेक्कासम्म पाल्ने व्यक्तिलाई छैन। चराका व्यापारी समेत कानूनी पक्षबारे अनभिज्ञ छन्।
यस बाहेक व्यक्तिगत तवरमा चरा पालेर बेच्नेहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। मियाँकै भतिजा पर्ने गोटु खान यूट्युबको एक भिडिओमा आफूले बाबु-बाजेले गर्दै आएको चरा व्यापारलाई अगाडि बढाइरहेको सुनाउँछन्। भारत, हाजीपुरका खानको पनि स्वयम्भूमै पसल छ।
चराका शौखीनहरू धेरै भएकाले व्यापार राम्रो रहेको व्यवसायीहरू बताउँछन्। सबैजसो अनलाइन शपिङ पोर्टलमा विभिन्न प्रजातिका चरा बिक्रीमा राखिनुले पनि यसको व्यापार प्रष्ट्याउँछ। व्यापारीहरूका अनुसार, नेपाली बजारमा न्यूनतम पाँच सय रुपैयाँको बुनियाँदेखि तीन लाख रुपैयाँ पर्ने मकाउ प्रजातिका चरासम्म उपलब्ध छन्। यीमध्ये पनि स्पिन्च, लभ बर्ड्स, बजिज चराकै माग धेरै छ।
यससँगै चराको दाना, पिंजडा लगायत सामग्रीको व्यापार पनि फस्टाएको छ। नेपालीले मात्र होइन, विदेशीले समेत अनलाइनबाट चरा खरीद-बिक्री गर्ने गरेका छन्। नेपालमा पाइने सुगा लोपोन्मुख सूचीमा पर्ने भएकाले व्यापार गर्न पाइँदैन। वनमा पाइने अन्य पन्छी पनि उत्पादन गर्न अनुमति लिनुपर्छ। तर, व्यापारीहरू यस्ता प्रावधानप्रति पूरै अनभिज्ञ छन्। उनीहरूका अनुसार, धेरैजसो चरा व्यक्तिगत रूपमा पालेकाहरूले नै पसलसम्म ल्याइदिन्छन्।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालित फार्महरूबाट पनि सङ्कलन गरिन्छन्। “धेरै चरा अहिले स्थानीय रूपमै आउँछन्,” पानीपोखरी बर्ड्स शपकी गुरुङ भन्छिन्, “बाहिरबाट ल्याउँदा पनि एअरपोर्टबाट भन्सार तिरेर ल्याउँछौं।” ती पन्छी जङ्गलबाट ल्याएको नभई घरमै पालिएकाले व्यापार अवैध नरहेको व्यवसायीहरूको तर्क छ।
चराको व्यापार गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिनुपर्छ। तर, धेरैले कम्पनी रजिस्ट्रार कार्यालय, घरेलु उद्योग वा वडामा व्यवसाय दर्ता गरेका भरमा व्यवसाय चलाइरहेका छन्।चराचुरुङ्गी बिक्रीवितरणबारे अध्ययनमा संलग्न कुशल श्रेष्ठ नेपालमा स्पष्ट कानूनी व्यवस्था नभएकाले लोपोन्मुख प्रजातिका पन्छीको व्यापार सामान्य बनेको ठान्छन्। “कानूनले जङ्गली चराहरूको बेचबिखन गैरकानूनी मानेको छ, तर कुन चाहिं चरा व्यापार गर्न हुन्छ, कुन चाहिं हुँदैन भन्ने उल्लेख छैन,” उनी भन्छन्।
जिल्ला वन कार्यालय काठमाडौंका जिल्ला वन अधिकृत बद्री कार्की घरपालुवा परेवा पाल्ने बाहेक अरू सबैजसो चरा व्यापारीलाई भेटेसम्म कारबाही गरिएको बताउँछन्। तर, कारबाही प्रभावकारी नभएकाले कतिपय व्यक्ति फेरि चरा व्यापारमै फर्किहाल्छन्। “धेरैजसो ठूला जनावरको मुद्दा चलेको हुन्छ, त्यसैले चरातिर अलि फोकस कम भए जस्तो देखिएको छ,” कार्की भन्छन्, “यसतर्फ काम गर्न आवश्यक छ।” याे समाचार हामीले हिमालखबरबाट लिएका हाैँ ।
Comments