दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फूड अर्थात पत्रु खाना बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फूड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको हो ।
गएको असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फूड प्रयोग नगर्ने निर्णय गरेको थियो । गाउँपालिकाले जंक फुडको साटो पालिकामा उत्पादन हुने फलफूल अन्न धान, मकै, गहुँ, अण्डा, तरकारी तथा सागसब्जी, काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजाको बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
उहाँले प्लाष्टिकका माला तथा खादा प्रयोगमा समेत प्रतिबन्ध लगाएको बताउनुभयो । त्यस्तै गाउँपालिकाले विद्यार्थीले गह्रुंगो झोला बोकेर विद्यालय जानुपर्ने स्थितिको अन्त्य गर्न पनि निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।
Comments