साहित्य

लटरी [कथा]

0

  • एल बी क्षेत्री

बोर भएको बेला ट्रान्सपर्थको बसलाई दुई डलर तिरेर हामी रेड क्लिफबाट बेलमोन्ट फोरम पुग्थ्यौँ– बहाना हुन्थ्यो सस्तोमा बस यात्रा, हिँड्दै गरेको बसबाट बाहिरको सुन्दर दृश्य । सस्तोमा बस यात्रा गर्न पाएकोमा म निकै खुसी हुन्थेँ; मीना म्याम जाँदा दुई आउँदा दुई गरेर चार डलर खर्च गर्न परेकोमा रिसाउनु हुन्थ्यो । भन्नु हुन्थ्यो,’ सधैँ किन जानुप-यो घुम्न ? कसरी पुग्छ ?’

कसरी पुग्छ ? यो बडो जटिल प्रश्न हो ।  कोसँग होला र यसको उत्तर ? धेरै भयो मेरो मौन शक्तिले उहाँसँग कुनै प्रतिवाद गर्ने इजाजत दिन छोडेको  ।

बेलमोन्टको विशाल सपिङ मलभित्र हजारौँको सङ्ख्यामा थरीथरीका पसल छन् नै साथै त्यहाँ थरीथरीका पहिरनमा थरीथरीका मान्छे हेर्न पाउनुको आनन्द नै भिन्दै । खास गरेर महिलाहरू– तिनको शरीरको बनोट, छालाको रङ, कपालको स्टाइल, अनुहारको मेकअप र पहिरन, कसैका साँप्रा खुल्ला, कसैका बाउला, धेरैका दुवै; त्यो रोमाञ्चित संसारको महत्त्व नै छुट्टै । त्यहाँ दिनहुँ हजारौँको सङ्ख्यामा मान्छेहरूको चहलपहल भइरहन्छ ।

त्यस दिन गेटबाट प्रवेश गरेर मीना म्याम र म केहीबेर सँगसँगै हिँड्यौँ अनि मीना म्याडम किनमेल गर्न कोल्सतिर लाग्नुभयो; म सजिलो गरी बस्न पाउने सोफा कता होला भनेर खोज्दै हिँडँे ।  लाटरी स्टलनजिकै लामो सोफाको एउटा किनारमा बसेर एक जना श्याम वर्णकी अधबैँसे मोटी महिला आफूले गत हप्ता किनेको लाटरी टिकेटको परिणाम हेर्दै थिइन् । उनलाई डिस्टर्ब नहुने गरी सोफाको अर्को छेउमा गएर बसेँ ।

कहिलेकाहीँ लाटरीको टिकेट म पनि किन्थेँ । मैले ‘मेरो एघार डलरको विकराल सपना’ शीर्षकको एउटा कविता पनि कोरेको छु चिठट्ठा नपर्दाको पीडक विषयलाई लिएर । वास्तवमा यो चिट्ठाको जुवा खेलमा मलाई खासै रस नआएकै हो । जुवा खेल्नु राम्रो होइन भन्ने थाहा हुँदाहुँदै पनि विदेशमा हुँदा पचास डलरसम्म जिते पनि हारे पनि क्यासिनो जान चाहिँ रुचाउँछु– कहिलेकाहीँ । क्यासिनोमा पसेर जुवा खेलेको आनन्द छुट्टै हुन्छ । कारण धेरै छन् । यो अनुभव गरेकालाई मात्र थाहा हुने कुरा हो । जिन्दगीको आनन्दझैँ । जिन्दगी पनि एक प्रकारको जुवा त हो । यसमा पनि त कहिले  हार र कहिले जित नै त भइरहन्छ ।

सोफाको अर्को किनारमा बसेकी महिलाको अनुहारमा आउँदै जाँदै गरेको विषम भाव हेर्दै थिएँ । मानव सभ्यताले निर्माण गरेको सभ्य आचरणअनुसार महिलालाई घोरिएर हेर्नुहुँदैन भन्ने मलाई थाहा छ तर हेर्नै हुँदैन पनि होइन । हेर्नका पनि भाँती हुन्छन् । त्यो भाँती मलाई थाहा छ । म जहाँ गए पनि मेरो म्यामलाई लिएर हिँड्ने एउटा कारण त्यो पनि हो ।

उसरी पनि मैले आवश्यकताभन्दा बढी ती श्याम वर्णकी महिलाको अनुहार कहाँ हेरेको थिएँ र ? उनले आफ्नो चिट्ठाको अङ्क मिलाउन खोज्दै गर्दा उनको अनुहारमा आउँदै–जाँदै गरेको घरी प्रसन्नता घरी खिन्नताको मिश्रित परिवर्तन हेरिरहेको थिएँ । एक पटक उनका र मेरा आँखा जुधे । अर्थात् उनले मतिर हेरिन् र फिस्स हाँसिन् । मैले उनलाई नियाल्दै गरेको अनुमान गरिन् होला, सायद । त्यो फिस्सको मुस्कानमा पराजय बोध जस्तो लागेर मैले मेरो टाउको दायाँ–बायाँ हल्लाउँदै प्रश्नवाचक सूचक स्वरमा ‘नो ?’ मैले एक शब्दे वाक्य बोलेँ । उनले आफ्ना जोडिएका मोटा ओठ नफुकाई नाकतिर लगिन् र एक शब्द पनि खर्च नगरी टाउको हल्लाएर आफ्नो उत्तर भनिन् । त्यसपछि उनी खितित्त हाँसिन् । हाँस्दा उसका बाक्ला ओँठभित्रका टलक्क टल्केका सेता दाँत टमक्क मिलेका थिए । यस पटक उनको अनुहारमा उज्ज्यालो थियो । उज्यालो देख्दा म निकै हर्षित हुन्छु ।

यिनको र मेरो छोटो समयका लागि दोस्ती भयो ।

मैले सोधेँ– के हेर्दै ?

उनले भनिन्– मैले धेरै लटरीको टिकेट किनेकी छु । आज बुधबारको नतिजा हेर्दै छु कतै परिहाल्छ कि ? तर नो लक् ।

मैले भनेँ– हामी पैसा पैसा भनेर कति मरिहत्ते गर्छौं । तिमीलाई कति भए पुग्ला ?

उनले हाँस्दै भनिन्– पैसाले कसलाई पुग्छ र ? मलाई त जत्ति भए पनि थोरै हुन्छ ।

म मौन भएँ ।

एक छिन पछि उनले सोधिन्– अनि तिमीलाई ?

मैले भने– मलाई त पुग्यो । चाहिँदैन ।

उनले भनिन्– तिम्ले आफ्नो श्रीमतीलाई सोध, उनलाई पैसाले पुग्यो कि पुगेन, घर त उनले चलाउने हो नि !

मलाई लग्यो उनले नारी समाजवाददेखि अर्थवाद र अर्थवाददेखि नारी अधिकारवादसम्मका कुरा मात्र एक वाक्यमा टुङ्ग्याइन्  ।

……….

मीना म्यामको सपिङ सिद्धियो । म उठेँ । दुवै गेटतर्फ लाग्यौँ ।

ट्रान्सपर्थको बसमा बेलमोन्टबाट रेडक्लिफ फिर्ता हुँदै गर्दा मीना म्यामले भन्नुभयो– “ओ हो यसरी कसरी पुग्छ ? आज त धेरै खर्च भयो नि ।”

म मौन, ती छोटो समयकी मित्रले भनेको कुरा सम्झिँदै थिएँ । “तिम्ले आफ्नो श्रीमतीलाई सोध, उनलाई पैसाले पुग्यो कि पुगेन, घर त उनले चलाउने हो नि !”  केही बेरपछि मैले मीना म्यामलाई सोधेँ– “तिम्ले जहिले पनि यसरी कसरी पुग्छ भन्छ्यौ, तिम्लाई कति पैसा भए पुग्छ भन त ।”

“पैसाले पनि कसैलाई पुग्छ र ? जति भए पनि पुग्दैन नि ।”

म पुनः मौन भएँ र आनन्दसाथ अर्कै विषयमा विचरण गर्न थालेँ । त्यसै क्रममा एउटा प्रश्नले बारम्बार घचघचाई रह्यो– “भूगोलले स्थापित गरेको दूरी होस्, सांस्कृतिक असमानता होस्, शिक्षा, छालाको रङ, पहिरन आदि आदि भिन्नता जे–जस्तो होस्– विश्वभरिका महिलाहरूको नारीवादी आर्थिक चिन्तनमा यति धेरै समानता किन हुन्छ होला ?’ मधुपर्क

एयरपाेर्टमा पूर्वराजाकाे भव्य स्वागत्, सुरक्षाकर्मीलाइ भ्याइनभ्याइ

Previous article

विसं १८७२ गाेस्वामी जयकृष्ण पुरीले कपिलबस्तुमा बनाएकाे ताैलेश्वर महादेवकाे प्रशिद्धी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *