काराेवार/अर्थतन्त्रराष्ट्रियविकास

किसानलाइ धान खेतीबाट फाइदा छैन

0

  • सुरेशकुमार यादव

अहिले धान रोप्ने समय हो । किसान धान रोप्नमा व्यस्त छन् । सरकारी तथ्याङ्कमा अहिले सम्ममा ५४ प्रतिशत रोपाइँ भइसकेको छ र साउनको तेस्रो हप्तासम्ममा लगभग रोपाइँ सकिन्छ ।यस वर्ष १३ लाख ५० हजारदेखि १३ लाख ६० हजार हेक्टरमा धान रोपिने सरकारी निकायको अनुमान छ । गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अघिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल बर्सेनि घटिरहेको छ ।

यस वर्ष ५६ लाखदेखि ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान सरकारले गरेको छ । धानको उत्पादन घटिरहेको छ । यो उत्पादनले माग धान्न पुग्दैन जसले गर्दा बर्सेनि १६ अर्ब ७९ करोड रुपियाँको धान र ८८ अर्ब ५० करोड रुपियाँको चामल आयात भइरहेको छ ।

परम्परागत तरिकाले खेती हुने भएकाले धान उत्पादन न्यून छ र आम्दानीको हिसाबले किसान धान खेतीलाई त्यति रुचाइरहेको देखिँदैन । किसान धान खेतीमा लगानी उठाउन नसकिएको बताउँछन् । तर, सरकारी अधिकारी भने यो मान्न तयार छैनन् । आधुनिक तरिकाबाट धान खेती गरे फाइदा निकै भएको उहाँहरूको दाबी छ ।

किसानको गुनासो

लामो समय राजनीतिमा सक्रिय रहेर अहिले कृषि पेसामा लाग्नुभएका पूर्वमन्त्री जयप्रकाश गुप्ताले असारअघि नै धान खेती नगर्ने घोषणा गर्नुभएको थियो । विराटनगरमा कृषि फार्म सञ्चालन गरेर पशुपालनदेखि विभिन्न बाली लगाउँदै आउनुभएका गुप्ताले लगानीअनुसार प्रतिफल नदिएपछि धान खेती त्यागेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “जब उचित फाइदा हुँदैन भने त्यसका लागि किन मेहनत गरिरहने ?” पूर्वीतराई मधेशमा यस वर्ष धेरै किसानले धान खेती नगरेको उहाँले जानकारी दिनुभयो ।

धान खेतीतर्फ अरुचि देखाउने किसान अरू पनि धेरै छन् । कालीकोटका किसान अलिबहादुर विष्टले भन्नुभयो, “चार रोपनीमा धान रोप्यो भने वर्षभरि खान पुग्दैन, एक रोपनीमा गरिएको तरकारी खेतीले वर्षभरिको खर्च पुग्ने मात्रै होइन बचत पनि हुन्छ ।”खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी (काठमाडौँ)ले धानमा गरेको लगानीअनुसार आम्दानी नदेखिएको कारण धान खेतीबाट पलायन हुने अवस्था बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म आफँै पनि १० रोपनीमा धान खेती गर्छु तर वर्षभरिलाई खान मात्र पुग्छ, बरु त्यसको ठाउँमा अरू बाली लगायो भने योभन्दा धेरै आम्दानी हुन्छ ।” काठमाडौँ उपत्यकामा हिसाब बराबर काठमाडौँ उपत्यकामा व्यावसायिक रूपमा धान खेती हुँदैन । यहाँका साना–साना टुक्रा जग्गामा गरिएको धान खेतीबाट किसानले धेरै फाइदा गर्नसकेका छैनन् ।

किसानका अनुसार काठमाडौँ उपत्यकामा एक रोपनी क्षेत्रफलमा धान खेती गर्दा ११ हजारदेखि १३ हजार रुपियाँ खर्च हुन्छ र उत्पादन भने तीन सयदेखि ३५० केजीसम्म हुन्छ । सरकारले तोकेको मूल्यभन्दा बढी अर्थात् प्रतिकेजी २५–४० रुपियाँमा धान बिक्री गर्दा एक रोपनीमा उत्पादन भएको धानबाट १४ हजारदेखि १५ हजार रुपियाँ मात्र आम्दानी हुन्छ । अधिकारीले भन्नुभयो, “जति लगानी गरेको थिए, त्यति नै आम्दानी भयो अनि किसानले धान खेती किन गर्नु ।”

काठमाडौँ उपत्यकामा धान खेतीमा लाग्ने खर्च धेरै भए पनि महँगोमा बिक्री हुने गरेको छ । प्रायः यहाँका किसान जिरा मसिनो धान उत्पादन गर्छन् ।सरकारले गत आर्थिक वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ तोकेको थियो ।

तराईमा गुजारा गर्नै मुस्किल जयप्रकाश गुप्ताका अनुसार तराई मधेशमा धान लगाउँदा प्रतिबिघा ४८ हजारदेखि ५० हजार रुपियाँ खर्च हुन्छ । एक बिघामा उत्पादन हुने धान बिक्रीबाट ७५ हजार रुपियाँ आउँने भएकाले किसानलाई २७ हजार रुपियाँ बचत हुन्छ ।

तर, एक बिघामा धान खेती गर्दा लागेको यो खर्च मोटामोटी मात्रै भएको गुप्ताको भनाइ छ । “एक बिघा खेतमा चार पाँच महिना मेहनत गरेपछि मात्र २५ हजारदेखि २७ हजार रुपियाँ फाइदा हुन्छ । यसले एउटा परिवारलाई गुजारा गर्न गाह्रो हुन्छ,” गुप्ताले भन्नुभयो । कञ्चनपुरका असारेराम बडायकले भन्नुभयो, “धान खेतीमा त्यति फाइदा छैन, धानका साथसाथै अन्य बाली लगाउने गरेका कारण मात्रै खर्च धानिन्छ, नत्र धानकै भरमा रह्यो भने गुजारा गर्न पनि मुस्किल हुन्छ ।”

किसान धानको सट्टा अरू खेती गर्दा आम्दानी बढी हुने बताउँछन् । किसान बडायकले भन्नुभयो, “त्यही धान खेतमा उखु लगाउँदा प्रतिबिघा आठदेखि १० लाख रुपियाँ लगानी लाग्छ त्यसबाट फाइदा पाँच लाखदेखि छ लाख रुपियाँ हुने गरेको छ ।”

परम्परागत खेतीमा खर्च धेरै कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले किसानलाई धानमा पनि फाइदा हुने गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “किसानले खेतीपातीमा कति लगानी लाग्छ त्यसको हिसाब राख्दैनन्, कसैले सोधे अनुमानको भरमा भन्दिछन् ।”

किसानले मजदुरमा निकै रकम खर्च गरेको पाइएको चर्चा गर्दै उहाँले परम्परागत खेती भइरहेकाले लगानी बढी देखिएको बताउनुभयो । “हली, खेताला, रोपार लगाएर धान खेती ग-यो भने खर्च धेरै हुन्छ, मेसिन प्रयोग ग-यो भने धेरै सस्तो पर्छ,” उहाँले भन्नुभयो । किसानलाई प्रतिक्विन्टल धान उत्पादनमा दुई हजार दुई सयदेखि दुई हजार तीन सय रुपियाँ मात्र लगानी लाग्ने गरेको र यो लगानीमा निकै फाइदा हुने गरेको उहाँका दाबी छ ।

सरकारले लागतको हिसाब निकालेर २० प्रतिशत मुनाफासहित धानको मूल्य निर्धारण गरेको हुन्छ, किसानलाई फाइदा नहुने कुरै हुँदैन भन्दै उहाँले किसानले पनि जस्तो पायो त्यस्तै बीउ रोप्ने समयमा मल नहाल्ने, सिँचाइ नगर्ने अनि कसरी हुन्छ फाइदा, फाइदा लिनका लागि उन्नत बीउ, मल र सिँचाइमा जोड दिनुपर्ने सुझाव दिनुभयो । समय समयमा बीउ परिवर्तन ग-यो भने १५ देखि २० प्रतिशत धान उत्पदानमा वृद्धि हुने गरेको देखिन्छ तर किसानले एउटै बीउ वर्षांैदेखि प्रयोग गरिरहेका हुन्छन् अनि फाइदा खोजेर हुन्छ, उहाँले भन्नुभयो ।(गाेरखापत्र)

गर्मीकाे चपेटामा युराेपः भूमध्यसागरीय जङ्गलमा लागेको आगो फैलियाे

Previous article

पशुपति क्षेत्रकाे नयाँ गुरूयाेजना बन्याे, गुरूयाेजना संस्कृति तथा पर्यटनमन्त्रीलाइ हस्तारण ।

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *