काराेवार/अर्थतन्त्रसमसामयिक

माेरङका सयाैँ परिवारकाे आयश्राेत बनिरहेकाे ‘निगुराे’

0

पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्राेत बनेको छ । सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा हुने गरेको छ । निगुरोको सिजन भएकोले पनि निगुरो टिप्नका लागि बिहानैदेखि मोरङका सामुदायिक जङ्गलमा जाने मानिसहरुको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।

परिवार चलाउन तरकारी व्यापारीहरु निगुरो टिप्नका लागि टाढा–टाढाबाट सामुदायिक जङ्गलमा जाने गर्छन् । पूर्वी मोरङका जङ्गलमा झिस्मिसेमै डोको बोकेर पस्नेको ठूलो सङ्ख्या देख्न सकिन्छ । चैत महिनादेखि कात्तिकसम्म निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जङ्गल धाउँछन् । झिस्मिसेमै जङ्गल पसेका मानिसहरुले करिब ११ बजेसम्म डोकोभरी निगुरो बोकेर निस्कन्छन् ।

सिरहा, सप्तरीदेखि झापाको काँकडभित्तासम्मका व्यापारीहरु निगुरो टिप्न आउने गरेका छन् । पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरोका कारण कतिपयको दैनिक गुजारा चल्ने गरेको छ ।

स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौं मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाडौंसम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउछन् ।

गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएकाे निगुरो व्यापारी जितेन्द्र चौधरी बताउँछन् । करिब २० वर्ष अघिदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गरी धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको उनले बताए ।

यसैगरी, अर्का निगुरो व्यापारी कौशिला माझी निगुरो बेचेरै आफ्नो दैनिक गुजारा चलिरहेको बताउँछन् ।पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३÷४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् ।

यो क्षेत्रमा सय हाराहारी ठेकेदारले दैनिक ठूलो सङ्ख्यामा निगुरो सङ्कलन गरी विभिन्न बजारमा बिक्री गर्ने गरेका उनले बताए । दैनिक एक जनाले ३० देखि ७० मुठासम्म निगुरो टिप्ने गरेको उनीहरुको भनाइ छ । निगुरो टिप्ने एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपियाँसम्म त कसैले दुई हजार रुपियाँसम्म कमाउने गरेको उनी बताउँछन्  ।

निगुरो टिप्न विद्यालय तहमा पढ्ने बालबालिकादेखि कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । निगुरो टिप्नेमा बालबालिका र स्कुले विद्यार्थी मात्र हुँदैनन् । लकडाउनअघि पथरी शनिश्चरे, लेटाङ, बेलबारी क्षेत्रबाट दैनिक पाँच गाडी निगुरो काठमाडौं आउने गरेको थियो । पूर्वी मोरङमा पाइने अर्गानिक तरकारी निगुरोलाई ‘ब्राण्डिङ’ गर्न सके प्रदेशकै आम्दानीको स्रोत बन्नसक्ने प्रचुर सम्भावना रहेको निगुरो व्यापारी माझीको भनाइ छ ।

बेलायतमा व्यापक गर्मी बढेपछि संकटकाल लगाइयाे

Previous article

बुनपामा नयाँ मतदाता दर्तामा व्यापक अनियमितता, वडा नं १२ काे बसाइसराइ प्रमाणपत्रमा सचिवकाे किर्ते हस्ताक्षर

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *