राष्ट्रियविचार/लेख

गुरू पूर्णिमा, गुरूवरण र गुरू महत्व

0

आज आषाढ शुक्ल पूर्णिमाको दिन आफ्ना गुरुहरूलाई सम्झने, गुरु पूर्णिमाको विधानको दिन हो ।सदियौँदेखिको धार्मिक महत्व बोकेको यो पर्वमा प्रातः स्नान गरी आफ्ना गुरुका समिपमा गई सर्मपित भई फलफूल तथा द्रव्य चढाएर गुरुको आर्शिवचन प्राप्त गर्ने चलन रहेको छ । हिन्दु संस्कृतिमा कुनैपनि तन्त्र साधना तथा मन्त्र सिक्नका लागि गुरुपूर्णिमाको दिनलाई अति उत्तम मानिन्छ ।

यस वेला मन्द वर्षाको आगमनको थालनी भएको हुन्छ र खेतमा नवजीवनको रूपमा नयाँ टुसा पलाएको हुन्छ । यो समयमा एकै स्थानमा बसी ध्यान, योग, तप गर्नाले अधिक शक्ति उत्पन्न हुन्छ भन्ने कुरा शास्त्रमा वर्णित छ ।

हिन्दू समाजमा मात्र नभएर बौद्ध समाजमा पनि बुद्धले सारनाथमा आफ्नो पहिलो उपदेश दिएको सम्झनामा गुरु पूर्णिमा मनाइन्छ । गुरु शिष्य परम्पराको औपचारिक सम्बन्ध शिक्षा, सँगीत, खेलकुद, लगायत विभिन्न प्रशिक्षण आदिमा पाउन सकिन्छ । विशेष शास्त्रिय सँगीतको क्षेत्रमा यो परम्परा अझै सम्मानजक रहेको देख्न सकिन्छ ।

गुरुपुर्णिमा व्यास जयन्तिको रूपमा पनि प्रसिद्ध छ । ‘कृष्णं वन्दे जगद्गुरू’ भनेर व्यासले श्रीकृष्णलाई जगद्गुरुको दर्जा दिई आफूलाई दोस्रो स्थानमा राखेका छन् । आदि गुरु श्रीकृष्णद्वैपायन व्यासको जन्म यसै दिन अर्थात् आषाढ शुक्ल पूर्णिमाको दिनमा भएको थियो । व्यासले समस्त वेदको विभाजन गरी ब्रह्मसुत्रको रचना पनि यसैदिनमा गरेका थिए । उनले नै वेदऋचालाई संकलन गरी वेदलाइ चार भागमा बाँडेका थिए । त्यस्तै महाभारत, अठा-ह पुराण, अठा-ह उपपुराणको रचना गरेका थिए । यसमध्ये श्रीमद्भागवत् महापुराण अतुलनिय ग्रन्थ मानिन्छ । यी सबका माध्यमबाट उनले भावी सन्ततिलाई ईहलोक र परलोक दुवैे जीवनलाई मार्ग प्रदान गरिदिएका छन् । त्यसैले उनको सम्मानमा यो पर्व प्राचीनकालदेखि नै मनाईदै आईएको हो ।

मानिसलाई हरेक क्षणमा गुरुको आवश्यकता पर्दछ । सभ्य समाजको जीवनको आधारस्तम्भ गुरु नै हुन् । प्राचीन समाजका युगपुरूषहरू राम, कृण, बुद्ध, सन्त कवीर, सबैले आफ्नो जीवनमा गुरु धारण गरेका थिए । कवीरलाई अध्यात्म दर्शनको एक स्तम्भ मानिन्छ । उनका गुरु स्वामी रामानन्द थिए । कबीरका अनुसार “रामको नाम त सबैले लिन्छन् । तर त्यो नामको सारको महत्व थोरैले मात्र बुझेका हुन्छन् र्। राम’ नामको महत्व तत्वज्ञानलाई जान्नु हो र जीवनको सारा भ्रमलाई मेटाउनु हो । तर अज्ञानी गुरुले कहिले पनि आफ्ना शिष्यको संशय वा भ्रमलाई मेटाउन सक्दैनन् । जसले त्यो भ्रम मेटाउँछ त्यो सद्गुरु हो”। स्वामी महामति श्री प्राणनाथ सद्गुरु श्रीदेव चन्द्रजीका शिष्य थिए । उनले गुरुलाई कञ्चन, पारस र चन्दनको उपमा दिदै गुरु जहिले पनि चन्दन जस्तै आत्मिक ज्ञानको प्रकाशले जताजत सुगन्धमय बनाउने हुन्छन् भन्ने भावलाई प्रकाश पारेका छन् । अझ अगाडी उनलेयीमध्ये पनि सद्गुरु स्वयं दिपक हुन् , जसको ज्ञानको ज्योतिले सारा जगतलाई उज्यालो बनाइदिन्छ”भन्दै यस्ता सद्गुरु निकै मिहिनेत गरेर खोजेमा मात्र प्राप्त हुने कुरा बताएका छन् ।

मर्यादा पुरुषोत्तम भगवान राम सदैव आफ्ना गुरु विश्वामित्रसामु संयम, शिष्ट र निवेदक भावले रहन्थे र हरेक मार्गमा गुरुआज्ञा पालन गर्दथे । स्वामी विवेकानन्दलाई बचपनदेखि नै परमात्मासँग साक्षात्कार गर्ने तिव्र ईच्छा थियो । जव उनको भेट परमहंससँग भयो । तव नै उनै गुरु परमहंको आर्शिवाद र गुरुकृपाबाट उनी परमात्मासँग साक्षात्कार गर्न सक्षम भए । आचार्य चाणक्य भारतिय समाजका विभूती मानिन्छन् । उनको चाणक्य नीति हरकालका लागि त्यत्ति नै उपयोगी मानिन्छ ।

उनले आफ्नो क्षमताले भारतिय इतिहासको धारा नै बदलिदिए । पछि आफूजस्तै योग्य शिष्य चन्द्रगुप्त उत्पादन गरे । उनले पनि भारतिय समाजमा ठूलो योगदान गरेका छन् । शंकराचार्य, कौटिल्य आदि सबैले गुरुको महत्तामाथि प्रकाश पारेका छन् ।

मनु प्राचीन भारतिय समाजका पथ प्रर्दशक मानिन्छन् । उनले गुरुका विभिन्न भेदबारे उल्लेख गरेका छन् । उनका अनुसार “जो द्विजले शिष्यको उपनयन संस्कार सम्पन्न गरेर कल्पसूत्र र वेदान्त सहित उसलाई वेद पढाउँछ उसलार्ई आचार्य’ भनिन्छ ।

जसले जीविकाको लागि वेदको कुनै एक भाग अथवा वेदांग, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दशास्त्र वा ज्यातिप पढाउँछ उसलार्ई उपाध्याय’ भनिन्छ ।

जसले विधि विधान अनुसार संस्कार सम्पन्न गराउँछ र अन्न आदि भोजन पदार्थद्रारा बालकलाई पालन पोषण गर्दछ उसलाई ब्राह्मण गुरु’ भनिन्छ ।

कसैले वरण गरेर अग्निहोत्र, पूर्णिमा, अमावस्या आदि विशेष उपलक्ष्यमा यज्ञ तथा अनुष्ठान आदि जसले सम्पन्न गर्छ, उसलार्ई ऋत्विक’भनिन्छ ।”

गुरु कस्तो हुनुपर्छ भन्ने विषयले पनि मानव समाज निकै महत्व राख्दछ । सबै गुरु गुरु हुन सक्दैनन् । गुरु जहिले निष्पाप कर्म गर्ने र अरूलाई पनि पाप कर्म गर्नलाई रोक्न सक्ने क्षमता राख्दछ, हरदम हित र कल्याणको कामना गर्दछ । मानवलाई समाजमा सार्थक रूपले जिउन सिकाउँदछ । शिष्यको आत्मवल जगाउने कार्य गर्दछन् । शिष्यमा निहित अन्र्तशत्तिलाई जागृत गराउने हरसंभव उपाय बताईदिन्छन् ।

कविरलाई आध्यात्मिक समाजको एक स्तम्भको रूपमा लिइन्छ । उनले सच्चा गुरुको परिचय दिई भविष्यमा आउन सक्ने आडम्बरी तथा ढोङ्गी गुरुबारे समाजलाई सजग गराएका थिए । उनका अनुसार रामको नाम त सबैले लिन्छन् । तर त्यो नामको सारको महत्व थोरैले मात्र बुझेका हुन्छन्। राम’ नामको महत्व तत्वज्ञानलाई जान्नु हो र जीवनको सारा भ्रमलाई मेटाउनु हो ।

अज्ञानी चमत्कारी तथा ढोङ्गी गुरुले सद्गुरुको नाम बेचेर आफ्नो झोली भर्ने काम गर्दछन् ।

उनले यस्ता गुरु र त्यस्ता गुरुबाट बनेका शिष्यका बारेमा यसरी व्याख्या गरेका छन् ।

गुरु लोभी शिष लालची दोनोँ खेले दांव । दोनो बुडे बापुरै, चढि पाथर की नांव ।।
सो गुरु निसदिन बन्दिये, जासो पाया राम ।नाम विना घट अंध है, ज्यो दिपक विना धाम ।।

अर्थात् लोभी गुरु र लालची शिष्य दुवै मिलेर दाउ खेल्छन् र पत्थरको नाउमा चढेर पानीभत्र नै डुब्छन् । उस गुरुको हमेशा सेवा गर्नुपर्दछ, जसले राम’ नामको धन पाएका छन् , किनकी राम विनाको नामले हृदय अधुरो रहन्छ । शास्त्रमा जसरी दूध वेगर गाई, फूलवेगर लता, कमलवेगर जल, ज्ञान वेगर विद्या, र जनतावेगर नगरको शोभा हुँदेन, त्यसरी नै गुरुवेगर शिष्यको शोभा हुँदेन भनिएको छ ।

प्राचीन समयमा वालकको परिचय दिँदा पनि सर्वप्रथम गुरुको चेलाको हैसियतले र त्यसपछि मात्र आफ्नो कुल, वंश आदिको परिचयले आफूलाई सम्बोधन गर्थे ।

आजको वर्तमान समाजमा आफ्ना शैक्षिक गुरुलाई पनि यो दिनमा सम्झने प्रचलन बढ्दो रुपमा देखिन्छ । आधुनिक भौतिक तडकभडक र व्यावसायिक बन्दै गैरहेको शैक्षिक प्रणालीमा प्रशासनिक तथा अन्य विविध कारणले गुरु र शिष्यबिच अल्पकालिक सम्बन्ध मात्र देख्न सकिन्छ । तर प्राचीनकालको गुरुकुलिय शैक्षिक प्रणाली आजको भन्दा विल्कुल भिन्न थियो ।

वर्णाश्रम धर्ममा आधारित मानवजीवनको पहिलो ब्रहमचर्याश्रम विद्या अध्ययनको लागि छुट्टाईएको थियो । आफ्नो वर्ण अनुसार बाल्यकालमा नै उपनयन संस्कार सम्पन्न गरी गुरुले शिष्यलाई गुरुकुलमा लिएर जान्थे । मेखला वस्त्र धारण गरि, कडा अनुशासनमा बसी, भिक्षादान गरि श्रुति विज्ञानका माध्यमबाट आर्जन गरिने त्यस किसिमको आर्दश शैक्षिक प्रणालीमा प्रख्यात गुरुले आफ्ना योग्य शिष्यलाई सुर्यले प्रकाश छरेझैँ आफ्नो ज्ञानको ज्योती छरिदिन्थे । लामो समयसम्म गुरुकुलमा जीवन विताउन भएकाले उनीहरूबीच पिता र पुत्र, संरक्षक र संरक्षित, मित्रवत् व्यवहार, चिरस्थाई र जीवनभरको सम्बन्ध स्थापना हुन्थ्यो ।

‘विद्याधनं सर्व धनं’ मानिने गुरुकुलीय शिक्षामा स्नातक भई समावर्तन हुनेवेलामा गुरुले ‘मातृदेवो भव’, ‘पितृदेवो भव’, ‘आचार्यदेवो भव’ ‘अतिथिदेवो भव’ भनि आर्शिवचन प्रदान गर्दथे । गुरु दोर्णाचार्य, कृपाचार्य, विश्वामित्र त्यसवेलाका चर्चित गुरु हुन् ।

गुरु धेरै विषयका ज्ञाता हुनुपर्दथ्यो । शिक्षा आजको जस्तो विशिष्टिकरण भै सकेको थिएन । आज एउटै गुरुमा विविध गुण पाउन मुस्किल छ । सहि गुरुको खाँचौआजको समाजलाई पनि छ ।

उचित गुरुको निर्देशन नपाएकै कारण आज मानव समाज दिशा हिन भईरहेको छ र समाजमा हिंसा, हत्या, लुटपाट, आतङ्क, भष्टाचार जस्ता रोगले प्राधान्यता पाएका छन् ।

आजको व्यस्त समाजमा साँस्कृतिक परम्परा पनि साँघुरिँदै गैरहेको छ । गुरूको साथ र साँचो आर्शिवचन त व्यक्तिलाई हरेक क्षेत्रमा र हरेक पाइलामा सँधै नै आवश्यक रहन्छ । साँचो गुरूको साथ पाएमा व्यक्ति दिशाहिन हुन सक्दैन । कतै पनि रूमल्लिदैन । तर पूर्विय उच्चकोटीको दर्शन अहिले ओझेलमा परेकोे महशुस गर्न थालिएको छ ।

समाजका सबै पाटामाआधुनिक बन्ने होडबाजीमा पश्चिमिकरण भित्रिदै गैरहेको छ । समाज पश्चिमी जीवनशैलीसङ अभ्यस्त हुन थालेको छ । साथै हाम्रा अमुल्य निधि मानिने साँस्कृतिक धरोहरमाथि अववरत रूपमा प्रहार भैरहेको छ ।

नयाँ पुस्तालाई यी गरिमामय सम्पदाको महत्व साँचो अर्थमा बुझाउनै सकिएको छैन । त्यसैले नयाँ पुस्ता सजिलै पश्चिमी जीवनशैलीलाई अंगिकार गर्न रूचाउँछन् । गुरुकुलीय शैक्षिक प्रणालीको स्थान आज रेसिडेन्सियल होस्टलले लिएका छन् भने उपनयन संस्कार सम्पन्न गरि पच्चिस वर्षसम्म गुरुआश्रममा विताईने जीवनशैलीलाई अहिले लगभग दुई दिनको ब्रतबन्ध संस्कार गरि नाटकिय ढङ्गमा गुरुशिष्य परम्परा धान्ने कोषिश भैरहेको छ ।

त्यस्तै हरेक कुरा गुगल मार्फत् खोज्दै गुगललाई नै असल गुरु मान्ने संस्कारमा रमाइरहेको हाम्रो नयाँ पुस्तालाई कसरी असली गुरुको महिमा बताउने भनेर आजका अभिभावक एकातिर अन्योलमा पनि परिरहेको अवस्था छ । तर पनि प्राचीन आचार्यहरूले दिएका उपदेशलाई व्यवहारमा उतार्न सफल भएमा मात्र सहि अर्थमा गुरु पूर्णिमा मनाएको सार्थक हुनेछ ।

  • सविता प्रशाइ सापकाेटा/लाेकपथ

नेपालमा काेराेना संक्रमण दर तीब्र, १८०५ पिसिआर चेक गर्दा १४४ जना पाेजेटिभ

Previous article

एकीकृत बस्तीमै पहिराे, १० घर क्षतिग्रस्त

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *