वन एक नवीकरणीय अति महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । मानव सभ्यताको विकासमा यसको अमूल्य योगदान छ । वन र मानवबीच अन्न्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । वनले हावा सफा गर्ने मानिसको फोक्सोका रूपमा चौबीसै घण्टा सेवा गरिरहन्छन् । बरु हामी नरहे पनि वन रहन सक्छ तर वन नरहे हामी रहन सक्दैनौँ ।
वनबाट वन पैदावार उपलब्धताका साथै वातावरण संरक्षण, जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, प्रदूषण नियन्त्रण, भूदृश्य सौन्दर्यीकरण, मनोरन्जन, शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार, शैक्षिक तथा अनुसन्धान कार्यलगायतका वस्तु तथा सेवाका क्षेत्रमा उल्लेख्य योगदान पुगेको छ । रुख बिरुवा प्रदूषण हटाउने सबैभन्दा भरपर्दा, सस्ता र प्रभावकारी मेसिन हुन् ।
नेपाल प्राकृतिक स्रोतको दृष्टिले धनी छ । वन सम्पदा त्यसमध्येको एक हो । देशका विभिन्न भू–उपयोग प्रणालीमध्ये सबैभन्दा बढी क्षेत्रफल वनले नै ओगटेको छ । कृषिप्रधान देश नेपालका झन्डै दुई तिहाइ जनता कृषिमै निर्भर छन् । वन क्षेत्र कृषि क्षेत्रको मेरुदण्डकै रूपमा रहेको छ ।
नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र जस्तै, कृषि, जलस्रोत, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासको आधारस्तम्भका रूपमा वन रहेको छ । देशको आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रको विकासमा वनको अहं भूमिका छ र यसले अझै धेरै सम्भावना बोकेको छ ।
पहाडै पहाडले बनेको, भिरालोपना तथा भौगर्भिक कमलोपना बढी भएको नेपालजस्तो देशका लागि बाढीपहिरो, भूक्षय आदि कम गरी वातावरण संरक्षण एवं जनधनको क्षति कम गर्न वनको विशेष भूमिका छ ।
वृक्षरोपण (बोटबिरुवा लगाउने कार्य) शब्द सुन्दा शाब्दिक रूपमा केही नौलोजस्तो लागे पनि व्यावहारिक रूपमा यो कार्य पुरानो हो । अनादिकालदेखि नै खेतबारी, बाटोछेउ, पानीपँधेरा वरपर, कुलो नहरछेउ, मठमन्दिर वरपर, सार्वजनिक जग्गालगायतका स्थानमा बोटबिरुवा रोप्ने र हुर्काउने परम्परा रहिआएको छ । साथै बाटो किनारमा चौतारो बनाई त्यसमा वर–पीपल, बेल, समीजस्ता धार्मिक महत्त्वका रुख बिरुवा रोपी हुर्काउने कार्य व्यापक रूपमा हुने गरेको प्रमाण यत्रतत्र अझै देखिन्छन् ।
नेपालका किराँतकाल, लिच्छविकाल र मल्लकालमा विशेष गरी धार्मिक क्षेत्र वरपर रुख बिरुवा रोप्ने गरिन्थ्यो । नेपाल एकीकरणपूर्व गोरखाका राजा रामशाहले वन व्यवस्थापनसम्बन्धी तीन नियम बनाएका थिए । तीमध्ये पानीपँधेरो वा मुहानका रुखको संरक्षण एवं त्यहाँ वृक्षरोपण गर्ने पनि एक थियो । राणाशासन कालमा, खास गरी राणा प्रधानमन्त्री चन्द्रशमशेर र जुद्धशमशेरका पालामा काठमाडौँ उपत्यकाका विभिन्न दरबार परिसर र सडक किनारमा स्वदेशी र विदेशी मूलका प्रजातिका प्रशस्त बिरुवा रोपिए ।
यसरी वृक्षरोपण कार्य छिटपुट रूपमा प्राचीनकालदेखि नै निरन्तर चलिरहेको भए पनि व्यवस्थित तथा भौतिक लक्ष्य निर्धारण गरी योजनाबद्ध तवरले भने वि.सं. २०१३ सालमा प्रथम पञ्चवर्षीय योजना लागू भएपछि मात्र सुरु भयो । सो अवधिदेखि बिरुवा उत्पादन, वितरण र वृक्षरोपणको भौतिक लक्ष्य निर्धारण गरी कार्य सञ्चालन भए ।
वर्षौंदेखि देशका सबै जिल्लाका वन नर्सरीबाट बर्सेनि लाखौँका सङ्ख्यामा बिरुवा निःशुल्क रूपमा वितरण भई सरकारी तथा निजी जग्गामा वृक्षरोपण भएको छ । हाल समग्र रूपमा देशको वन क्षेत्र बढ्नु र निजी जग्गाका वन पैदावारको बिक्री वितरणबाट समेत देशकै वन पैदावार मागको आपूर्तिमा केही हदसम्म टेवा पुग्नु सोही कारणसमेतले हो । साथै विभिन्न जिल्लामा रहेका निजी नर्सरीबाट समेत हाल प्रशस्त बिरुवा उत्पादन र बिक्री वितरण भइरहेका छन् ।
बिरूवा राेप्दा पनि जहाँ पायाे त्यहिँ जुन पायाे बृक्षाराेपण नगरी अध्ययन गरेर माटाे तथा हावापानी अनुसार वृक्षाराेपण गरिएकाे छैन । माटाे र हावापानिबाहेक वृक्षाराेपण गरिने जमिन के कस्ताे भन्ने विषयसमेतले बिरूवा सर्ने नसर्ने वा बढ्ने नबढ्ने कुराकाे अर्थ राख्छ । हरेक भूगाेलमा आफ्नै माैलिक रैथाने रूखहरू हुनछन् । परापूर्वकाल देखिका रूख बिरूवालाइ जाेगाउनुमात्र हैन तिनीहरूलाइ सम्बर्धन गर्न पनि आवश्यक छ । रैथाने रूखहरूलाइ बचाउने, जाेगाउने तथा बढाउने तिनै काम आजकाे आवश्यकता हाे ।
बिरुवा उत्पादन र वृक्षरोपण कार्य सरकारी निकायबाट मात्र नभई विभिन्न गैरसरकारी सङ्घ–संस्था तथा निजी क्षेत्रबाट समेत भइरहेको हुँदा देशमा हालसम्ममा कति बिरुवा उत्पादन भई कति हेक्टर क्षेत्रमा वृक्षरोपण भयो, सोबारे स्पष्ट तथ्याङ्क एकीकृत हुन सकेको छैन । साथै वृक्षरोपणपछि संरक्षण र व्यवस्थापन कार्यमा अपेक्षाकृत ध्यान पुग्न सकेको छैन । यसका लागि सबै सरोकारवालाको दिगो र सक्रिय सहभागिता चाहिन्छ ।
हुन त नेपालको उपयुक्त हावापानी र मलिलो माटोका कारण कतिपय खाली ठाउँमा प्राकृतिक रूपमै बिरुवा उम्री झाडी÷रुखयुक्त वन बनिरहेका छन् तर चाहेको प्रजातिको छिटो र धेरै उत्पादन लिन त वृक्षरोपण नै उत्तम उपाय हो । अझ सहरी हरियाली अभिवृद्धिका लागि त वृक्षरोपण नै एक मात्र उपाय हो । अतः हरियाली अभिवृद्धि एवं वन विस्तारको छिटो, भरपर्दो र प्रभावकारी उपाय नै वृक्षरोपण हो । वृक्षरोपण कार्यको प्रचारप्रसार एवं जनमानसमा रुख बिरुवा एवं वनको महत्त्वबारे चेतना अभिवृद्धि गर्ने र वृक्षरोपण कार्यलाई व्यापक गराउने उद्देश्यले वि.सं. २०१० को दशकदेखि नै बर्सेनि वृक्षरोपणलगायतका विविध कार्यक्रम आयोजना गरी वन महोत्सव-वृक्षरोपण दिवस मनाइँदै आइएको छ ।
विगतमा वृक्षरोपण महोत्सव-दिवस विभिन्न मितिमा मनाउने गरिए पनि २०७५ सालबाट असार १४ गतेबाट राष्ट्रिय वृक्षरोपण दिवस मनाउने गरिएको छ । देशका विभिन्न जिल्लामा सरकारी, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, उपभोक्ता समितिलगायतबाट वृक्षरोपण, वादविवाद एवं निबन्ध प्रतियोगिता, प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरी कार्यक्रम मनाइन्छ । सामुदायिक वन कार्यक्रमलगायतका जनसहभागितामा आधारित वन विकास कार्यक्रमको सफल कार्यान्वयनलगायतका कारणले गर्दा देशको वन क्षेत्रफलमा वृद्धि भई झन्डै आधा भूभाग ओगट्न पुगेको छ । देशका विभिन्न क्षेत्रमा वनको वितरण भने समान छैन । वनको उचित व्यवस्थापन हुन नसक्दा बर्सेनि अर्बौं मूल्यका वन पैदावार आयात भइरहेका छन् ।
तराई, चुरे र सहरी क्षेत्र वरपर वनमा चाप बढी छ । ठाउँ–ठाउँमा अव्यवस्थित सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणले वन खण्डीकरण हुनुका साथै विनाशसमेत भइरहेका छन् । यसका लागि वनको उचित व्यवस्थापन गर्नुपर्छ । नवनिर्मित सडक तथा भौतिक संरचना वरपर बायो इन्जिनियरिङ प्रविधिको व्यापक प्रयोग गरिनुपर्छ । कृषिप्रतिको आकर्षणको कमीले देशका प्रशस्त खेतबारी बाँझै छन् । कृषिप्रधान देश नेपालका दुई तिहाइ जनसङ्ख्या कृषिमा संलग्न भए पनि बर्सेनि ठूलो परिमाणमा कृषिउपज आयात हुने गरेको छ । उपयुक्तताअनुसार कृषि वन प्रणालीको प्रवद्र्धनबाट रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गरी कृषिउपज र वन पैदावारको आपूर्तिमा एकैसाथ टेवा पु¥याउन सकिन्छ ।
देशको सहरीकरणको गति तीव्र छ । हाल देशको जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा सहरमै बसोबास गर्छ । सहरीकरण व्यवस्थित रूपमा हुन सकेको छैन । देशका प्रायःजसो सहरमा हरियाली अत्यन्त कम छ । केही स्थानमा वृक्षरोपणका प्रयास पनि नभएका होइनन् । कुनै–कुनै सहरमा हरियालीको अवस्था राम्रो पनि छ । कतिपय ठाउँमा त जसरी पायो त्यसरी, जुन पायो त्यही प्रजातिका, जत्रा पायो त्यत्रो साइजका, जसले पायो त्यसले, जहाँ पायो त्यहीँ, जहिले पायो त्यहिले बिरुवा रोपेको देखिन्छ ।
स्मरणीय कुरा के छ भने उपयुक्त ठाउँमा उपयुक्त बिरुवा रोपियन भने त्यसबाट फाइदाभन्दा घाटा बढी पनि हुन सक्छ । साथै रोपणपछि दिगो रूपमा संरक्षण र व्यवस्थापनमा अपेक्षाकृत ध्यान पुग्न सकेको छैन । बिरुवालाई बच्चालाई जस्तै नियमित हेरविचार गरिरहनुपर्छ । यसका लागि सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था, नागरिक समाज, उपभोक्ता समिति, टोल सुधार समितिलगायतका सरोकारवालासँगको समन्वय तथा सहकार्यमा प्राविधिक पक्षलाई विशेष ध्यान दिई कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
देशमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट नयाँ जोश जाँगर लिएर आएका जनप्रतिनिधिले आआफ्ना पालिकामा हरियाली प्रवद्र्धन गर्ने योजनासहित प्राविधिकको सहयोगमा सरोकारवालाको समन्वय र सहकार्यमा व्यापक वृक्षरोपण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
सरोकारवालाको समन्वय र सहकार्यमा प्राविधिक पक्षलाई विशेष ध्यान दिई ‘ठीक ठाउँमा ठीक बिरुवा’ रोपणको सिद्धान्तलाई अङ्गीकार गर्नुपर्छ । वर्षाको समयमा सरकारी तथा निजी खाली एवं अनुपयुक्त प्रजातिका झाडीले ढाकिएका जग्गामा अभियानकै रूपमा वृक्षरोपण गरेमा ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति सार्थक हुनेछ । देशको आर्थिक, सामाजिक एवं वातावरणीय क्षेत्रमा समेत ठूलो टेवा पुग्नेछ ।
- रामबाबु पाैडेल
Comments