डा गोविन्द केसीले आफूहरूमाथि अफवाह फैलाइएको भन्दै छानबिन गर्न माग गरेका छन् । एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।
‘पटकपटक खड्गप्रसाद ओली स्वयम तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामीमाथि एमबिबिएसलगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने अफवाह फैलाएको हुँदा प्रथमत सो अवफाहमा किन्चित पनि सत्यता नभएको जानकारी दिन चाहन्छौं,’ केसीले आइतबार विज्ञप्तिमार्फत भनेका छन्।
‘ओली वा उनका सहयोगीबाट थप उजुरी लिई हामीमाथि गम्भीर प्रकृतिको छानबिन गर्नका लागि राज्य संयन्त्र, आम सञ्चार जगत वा अन्य सरोकारवालालाई आह्वान गरिन्छ,’ डा केसीले भनेका छन्, ‘त्यस्तो छानबिनको कार्यमा खड्गप्रसाद ओली स्वयम् संलग्न गर्दा पनि हामीलाई स्वीकार्य हुनेछ। त्यसरी छानबिन गर्दा कुनै पनि प्रमाणबाट त्यस्तो कार्यमा संलग्न रहेको देखिएमा जस्तोसुकै कठोर कानूनी कारबाही व्यहोर्न हामी तयार रहेका छौं।’
Comments