राष्ट्रिय

भारतबाट फर्किने नेपालीमा काेराेना सङ्क्रमण बढ्न थाल्याे, नेपालमा संक्रमणकाे ग्राफ पनि बढ्दाे

0

भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीमा पनि सङ्क्रमण देखिने क्रम बढ्दै गएको छ ।  भारतबाट आउनेमा फेरि कोरोना देखिन थालेपछि यहाँस्थित जमुनाह नाकामा आवागमन गर्नेमाथि फेरि कडा निगरानी सुरु गरिएको छ ।

पछिल्लो समयमा भारतमा काम गरेर फर्किनेमा फेरि सङ्क्रमण देखिन थालेकाले नाकामा आवागमन गर्नेलाई रुघाखोकी र ज्वरो भए नभएको भनी कडाइका साथ निगरानी गर्न सुरु गरिएको जमुनाह प्रहरीले जनाएको छ । नाकामा आवागमन गर्नेलाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्न थालिएको जमुनाह प्रहरीका इन्चार्ज वरिष्ठ सई माधव रिजालले बताए ।

उनले भारतमा सङ्क्रमण बढ्दै गएको जानकारी प्राप्त भएको र ठूला सहरमा रोजगारी गरेर फर्किने नेपालीमा सङ्क्रमण देखिन थालेकोले मास्क र भौतिक दूरीमा कडाइ गरिएको बताए । नाकामा हुँदै आएको एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको उनले बताए ।

भारतबाट फर्किनेको निगरानी बढाएर शङ्का लागेकाको एन्टिजेन परीक्षणमार्फत कोरोना परीक्षण गर्ने कार्य भइरहेको नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । डेस्कका अनुसार यसअघि बाँके बाहिरका नेपालीमा सङ्क्रमण फेला पर्दै आएकोमा अहिले आएर बाँकेका स्थानीयवासीमा समेत सङ्क्रमण फेला पर्न थालेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले पछिल्लो पटक बाँकेका दुई पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । कोभिड पुष्टि भएका नेपालगञ्ज–१८ का दुई र एक जना नेपालगञ्ज–१० का स्थानीयवासी हुन् । केही दिनयता नेपालगञ्जको जमुनाह नाकामा बाहिरी जिल्लाका नागरिकमा सङ्क्रमण देखिन थालेकोमा हाल आएर बाँकेकै तीन जनामा कोभिड पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६६ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार रहेको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट ३५३ जनाको मृत्यु भएको छ । फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरे । उनले कोभिड खोप नलगाएकालाई लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकालाई बुस्टर खोप लगाउनसमेत आग्रह गरेका छन्  । दैनिक सयौँको सङ्ख्यामा भारतबाट नेपाली फर्किने मुख्य नाकाका रूपमा रहेको जमुनाह नाका निकै संवेदनशील नाका भएकोले यो नाकामा उच्च सतर्कता र निगरानी आवश्यक देखिएको छ ।

नेपाली विद्यार्थीलाइ अस्ट्रेलिया भिसामा कडाइ, निवेदन दिएकामध्ये १० प्रतिशतमात्र सफल

Previous article

कबा साहित्यिक साप्ताहिक पुरस्कार तथा सम्मान-०७९ का लागि ७ विशिष्ट प्रतिभा चयन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *