राष्ट्रियसमसामयिक

खानेकुरा र खाने शैली व्यवस्थित गराैँ, स्वास्थ्य जीवन जिऔँ

0

  • डा. दिलजान मंसुर (कर्ट)

मंसिर १९, २०७८ पछिल्लो समय मानिसमा मोटोपना, उच्च रक्तचाप, कोलेस्टोरल र मधुमेहलगायतका स्वास्थ्य समस्या बढिरहेका छन् । यसको मूल कारण आधुनिक खानपान र जीवनशैली नै हो । यसमा परिवर्तन नगरेसम्म जति धेरै धनराशि खर्च गरे पनि यी समस्याबाट निदान पाउन मुश्किल छ । खानपानको डिसअर्डरले मानिसलाई ‘मेटाबोलिजम सिन्ड्रोम’ हुन्छ । यसको उपचार पद्धति भनेको शरीरमा इन्सुलिन, लेप्टिन र ग्रहलिनजस्ता हर्मोन र खानपानबीच तालमेल मिलाउन सक्नु नै हो । सरल भाषामा भन्नुपर्दा प्रोटिन, बोसो तथा कार्बोहाइड्रेट र हर्मोनबीचको अन्योन्याश्रित सम्बन्धबारे सबैले बुझ्न जरुरी छ ।

 

अर्को कुरा धेरैजना स्लिम बन्ने चाहनाले क्लिनिक धाइरहेका हुन्छन् । स्लिम होइन स्वस्थ बन्ने सोच सबैले राख्न आवश्यक छ । किनभने मानिस स्वस्थ भएपछि शरीरले आफै अनावश्यक बोसो घटाउने वा अन्य विकारहरू निष्कासन गर्ने गर्छ । मानव शरीरले त्यसै पनि अनावश्यक भार थेग्न सक्दैन । तसर्थ भोक लागेको बेलामा शरीरलाई आवश्यक पर्ने खानेकुरा मिलाएर खानुपर्छ । यसले शरीरलाई स्वस्थ मात्रै बनाउँदैन रोगका कारण विभिन्न औषधि सेवनबाट पनि छुटकारा दिलाउन सक्छ ।

आधुनिक खानपानको उपभोग र आधुनिक जीवनशैलीका कारण हामी आफैंले समस्या निम्त्याइरहेका छौं । थाइल्यान्ड घुम्न जान परे महिना दिनअघि के खाने, कहाँ बस्ने, कहाँ घुम्ने भनेर इन्टरनेटमा चहार्दै सूचना बटुल्नेहरू पनि धेरै भेटिन्छन् । तर, चिकित्सकले लेखिदिएको औषधि हामी एकपटक इन्टरनेट सर्च नगरी कुनै जानकारी नै नलिई विश्वासका भरमा सेवन गर्छौं । यसको साइड इफेक्ट्ससम्म ख्याल गर्दैनौं । तसर्थ अब हामी आफ्नो शरीर र स्वास्थ्यबारे जाग्नुपर्छ ।

एक अध्ययनअनुसार ७० प्रतिशत मानिसले दूध पचाउन नसके पनि त्यसको सेवन गरिरहेका हुन्छन् । दूध पचाउने क्षमता १० वर्षभन्दामुनिका बालबालिकामा बढी हुन्छ । दही भने सबैका लागि लाभदायक छ । चिसा पेय पदार्थ (कोल्ड ड्रिंक्स), मदिराजन्य पेय तथा भात मासुसँग खान नहुने खाद्य वस्तु हुन् । त्यस्तै, बजारमा पाइने प्रशोधित तेल, रिफाइन गरिएको चिनी र प्रशोधित कार्बोहाइड्रेड शरीरका लागि शत्रु हुन् । यी पदार्थबाट हामी टाढै बस्नुपर्छ ।

खानामा धेरैको मानसिकता ‘सी डाइड’ (देखेको कुरा खाइहाल्ने) छ । अझ कतिपयले अर्काले खाएको देखेर प्रभावित भई वा टिभीमा जे देख्यो त्यो खाइहाल्छन् । यस्तो स्वभाव आफैंमा हानिकारक छ । मेरो विचारमा हामीले खाएको प्रोटिनजन्य खाद्यपदार्थबाटै शरीरले आवश्यक चिनी पाइरहेकाले कार्बोहाइड्रेडको आवश्यकता छैन ।

खाना

भोक लागेपछि मात्रै खाना खानुपर्छ । खानामा एक बाउल हरियो सलाद, अण्डा र चीजबाट बनाइएको अम्लेट, माछा मासु, चीज, ओखरलगायतका ड्राइफ्रुट्स सय ग्रामजति खान सकिन्छ । खानाका लागि समयान्तर आवश्यक छ । छिटो–छिटो खानु हुँदैन ।

निद्रा

मान्छे एक महिना अन्न वा अरू कुनै चीज नखाए पनि बाँच्न सक्छ तर सात दिन सुतेन भने बाँच्न कठिन हुन्छ । तसर्थ मानिसका लागि निद्रा अत्यन्तै महत्वपूर्ण छ । दैनिक कम्तीमा पनि आठदेखि १० घण्टा सुत्नुपर्छ ।

तनाव कम गर्ने

तनाव कम गर्न योगा, मेडिटेसन गर्न सकिन्छ । संगीतले पनि तनावलाई कम गर्छ । त्यसैले संगीत पनि सुन्न सकिन्छ ।

घाममा बस्ने

शरीरलाई आवश्यक भिटामिन ‘डी’ का लागि घाम जस्तो अर्को उत्तम स्रोत छैन । तसर्थ दैनिक एक घण्टा घाममा बस्दा शरीर बलियो हुन्छ ।

व्यायाम

स्याँ–स्याँ हुने गरी व्यायाम गर्ने ताकि मुटुको समेत एक्सरसाइज होस् जसका लागि साइकिलिङ, स्विमिङ, रनिङ गर्न सकिन्छ ।

प्रशस्त आराम

खाना खाएको कम्तीमा दुई घण्टापछि मात्रै सुत्नुपर्छ । सुत्ने कोठामा मोबाइल, टिभीलगायतका कुनै पनि विद्युतीय उपकरण राख्नु हुँदैन । मोबाइल आफूसँग राख्नैपरे स्विच अफ गर्नुपर्छ, त्यो पनि सुत्नुभन्दा दुई घण्टाअगाडि । डिभाइसले मस्तिष्कमा बन्ने मेलाटोनिन (सुत्ने अर्थात् निद्रा लाग्ने हर्मोन) लाई कम गरिदिन्छ । मोबाइल अफ गरेर यसको बत्ती निभेको दुई घण्टासम्म पनि हाम्रो मस्तिष्कभित्रको बत्ती बलिरहन्छ । जसले अनिद्रा, छटपटी ल्याउँछ ।(नारी)

वडा नं १२ मा उपभाेक्ता समितिभन्दै सेटिङमा ठेकेदारबाट काम हुँदै, सूचनापाटीसम्म राखिदैन

Previous article

फेशबुकदेखि टिकटकसम्मले भावनात्मक सम्बन्धहरू धरापमा पर्दै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *