फलफूल तथा जडिबुटी उत्पादनका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देनशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । फलफूल तथा जडिबुटी उत्पादन वा पूर्णतया: स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।
यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने कर्जामा भने लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । हाल वाणिज्य बैंकहरुको आधार दर ७.३ देखि १०.११ प्रतिशतसम्म छ । यस आधारमा अब फलफूल, जडिबुटी उत्पादन तथा प्रशोधनका ७. ३ प्रतिशत आधार दर भएको बैंकबाट ऋण लिएमा सो व्यक्तिलाई ९.३ प्रतिशतभन्दा बढी ब्याज पर्दैन । १ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा पनि आधार दरमा २ प्रतिशतसम्म मात्रै थप गरेर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था छ ।
व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा बढीमा २० लाखसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था पुरानै हो, यद्यपी बैंकहरुले त्यस्ता धितो स्वीकार नगर्ने गरेको गुनासो व्याप्त छ ।
Comments