अन्ततः बुढानिलकण्ठ नगरपालिकामा मिठराम अधिकारीले जिते । अधिकारीले ह्यान्डसम मतका साथ रूखका विनाेद चालिसे, कलमका बालकृष्ण श्रेष्ठमात्र हैन लाैराेका सुमित खरेललाइसमेत पराजित गरे । अधिकारीकाे याे जीत जति अपेक्षित छ त्याेभन्दा धेरै सन्देशमुलक पनि छ । लामाे सिमाना जाेडिएकाे काठमाडाैँ महानगरले ३१ वर्षे स्ट्रक्चरल इन्जिनिएर बालेन शाहलाइ राेजिरहेकेा बेला बुढानिलकण्ठवासीले ६२ वर्षीय सुनाउन मिल्ने औपचारिक पढाइ नखुलेका मिठाराम अधिकारीलाइ बिधिवत मात्र नभै मुक्तकण्ठले राेजेकाे छ । तथापि उमेर र पढाइले मात्र सबैथाेक हाेइन । मानव इतिहासमा नपढेका मानिसले काम गरेकाे उदाहरण प्रशस्त छन् ।
कपन गाविसका पूर्व अध्यक्ष भएका नाताबाहेक मजबुत संगठन भएकाे नेकपा एमालेकाे काँधकाे जगमा मिठाराम अधिकारी मेयर बनिरहँदा यसले दिने रूपगत सन्देश खासै उत्साहजनक देखिदैन तर सारगत सन्देश भने नसाेचिएकाे राम्राे वा साेचिएकाे विनाशक दुवै हुन सक्छ । जनप्रतिनिधिहरूकाे इतिहासमा उत्साहहीनझैँ लाग्ने कतिपय पात्रले उत्साह भरेका घटना विश्वभर नभएका भने हैनन् । के मिठाराम अधिकारीबाट समृद्ध बुढानिलकण्ठकाे कल्पना गर्न सकिएला त ?
बालेन शाहले काठमाडाैँबासीबीच भरेकाे उत्साहभित्र साना तर अर्थपूर्ण कुरा जुन काठमाडाैँ सभ्यताकाे माैलिकतासँग जाेडिएकाे थियाे त्यसले धेरैलाइ लाेभ्यायाे । त्यसैगरी, संस्कृतिदेखि वातावरण र फाेहरमैलाका सानासाना कुरामा बालेनले गरेकाे तर्क र परिभाषालाइ स्थानीयहरूले साेच्न बाध्य बनायाे । केपि ओलीले ब्रान्ड बनाउन खाेजेकाे धरहरालाइ भ्युटावरभन्दै धरहराकाे रूपबारे उनले गरेका व्याख्याले रैथाने नेवारहरूलाइ वाह, क्याबात् बालेन् ! भन्ने वातावरण बनायाे ।
ठीक उल्टाे, यता बुढानिलकण्ठमा मिठाराम अधिकारी चुनावी अबधिभरकाे वातावरणमा बाेल्दै बाेलेनन् । उनमाथि पार्टीले नै बाेल्न प्रतिबन्ध लगाएकाे भनेर प्रचार हुँदा पनि उनी मुखरित भएनन् । त्यसाे त नबाेल्नेले गर्नै सक्दैन भन्ने तर्कमा दम छैन । त्यसकाे ज्वलन्त उदाहरण भारतमा डा मनमाेहन सिंहलाइ लिन सकिन्छ ।
मेयर बन्न भनेर उम्मेदवार बनेका मिठाराम अधिकारी टेस्टेड मानिस थिए । उनले पाँचवर्ष प्रत्यक्ष र ३ वर्ष अप्रत्यक्ष कपन गाविस चलाएका हुन् । त्याे बेला खेतका आली बाटाेलाइ माेटरसाइकल वा गाडी हिँड्ने बनाउन उनकाे याेगदान छ । एकदुइ फलामे पुल वा ढलाने पुल बनाउन पनि उनले भूमिका खेले । कपन गाविस आज जुन अबस्थामा छ त्याे विकास हाे वा विनाश जे जसाे हाे त्याे अधिकारीकाे देन हाे । यसमा संका छैन ।
विषय, हामीले बुढानिलकण्ठका लागि नयाँ मेयर खाेजिरहँदा जनताले अधिकारीमाथि त्यस्ताे के देखे हाेलान् वा मिठाराम अधिकारीले त्यस्ताे के भने हाेलान् जसले उनीमाथि यति धेरै मतकाे वर्षा भयाे । जनताले पनि मिठाराम अधिकारीले भन्ने गरेझैँ कपनलाइ जापान नै बनाएकाे साेचे हाेलान् कि त । त्याे बेला मिठाराम अधिकारीले जानी नजानी गरेका कार्य आज बुढानिलकण्ठवासीलाइ मिठाे लाग्नु दुर्भाग्य हाे भनेर याे लेखकले भन्दैमा भन्न पनि नमिल्ला । यति धेरै मानिसले यत्तिकै उनलाइ राेजेनन् हाेला !
कि बुढानिलकण्ठमा बालेनकाे अभाव हुनु मतदाताका लागि कतै मिठाराम राेज्नुकाे बाध्य कारण बन्याे कि ! एकहिसाबले हेर्दा यसलाइ हैन भन्न पनि सकिदैन । तर पनि लाैराे चिन्ह लिएर सुशासनका मजबुत मुद्धा बाेकेका युवा सुमित खरेलभित्र बुढानिलकण्ठका जनताले किन बालेन महशुस गर्न सकेन र मिठाराम राेज्न पुगे हाेलान् ? सुन्दा सामान्य लागे पनि याे प्रश्न गहिराे छ ।
मतदाताकाे स्वादकाे मनाेविज्ञान बडाे आश्चर्यलाग्दाे देखिन्छ । मिठाराम अधिकारीसँग न मुद्धा थिए, न याेजना थिए, न साेच नै । उनीसँग न तथाकथित याेग्यता नै छ ! तैपनि मतकाे यतिकाे वर्षा ! विराेधका शब्दहरू वर्षेका जस्ताे लागे पनि याे बडाे पेचिलाे लाग्ने विषय हाे । अधिकारीसँग चुनाव लड्नेमा अरू सबैका क्षमतामाथि प्रश्न गर्न सकिए पनि ४ वर्ष नगरपालिकामा बसेर नगरकाे एकएक समस्या र सम्भावनाकाे नाडी छामेका सुमित खरेलमाथि प्रश्न गर्न सकिने कुरा त थिएन । मानिसले सुमितमा नदेखेकाे के कुरा देखे हाेलान् मिठाराममा !!!
जनता अझै सूर्य र रूखभन्दा माथि जान नसकेकाे हुन् भन्ने व्याख्या वा परिभाषा पनि आफै अब हास्स्यास्पद भैसक्याे । सिमाना जाेडिएकाे महानगरमा मिठाराम अधिकारीभन्दा कैयाै गुना कामका वा साेचका आधारमा अब्बल भनिने केशव स्थापितलाइ विस्थापित हुने गरी मानिस सूर्य र रूखभन्दा धेरै टाढा लाैराेतिर सहज हाम् फाले । याे काेणबाट हेर्दा बुढानिलकण्ठका मतदाताकाे मनाेविज्ञान बडाे सुष्क लाग्छ । मतदाताकाे याे मनाेविज्ञान परिभाषित गर्नै सकिदैन ।
बुढानिलकण्ठ अरू सामान्य नगरजस्ताे भर्खर बसेकाे सहर पनि हैन कि जहाँ विकासकाे व्याख्या अब बल्ल सुरु हुने गर्छ । यहाँ काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पाेखरेल, दर्जनाै सचिवहरू, पूर्व पुलिस तथा आर्मी प्रमुखहरूदेखि उद्याेगपतिका लाइन आलिसानसँग बस्छन् । कल्पनीय तथा अकल्पनीय पात्रहरू बुढानिलकण्ठमा बसाेबास गर्छन् । यहाँ समस्याकाे जति अथाह चाङ छ त्याेसँगै सम्भावनाकाे पनि चाङ छन् । याे समुन्द्रझैँ गहिराे बस्तीभित्रकाे चेतनाले राेजेकाे मिठाराम अधिकारीलाइ नगरप्रमुखकाे कार्यकाल सुखद र प्रभावशाली हाेस् भन्ने शुभकामना छ ।
- केशव पाठक
Comments