- राजु आचार्य
गण्डकी प्रदेशका मुख्य खाेलाहरूमध्यकाे सबी र सेती खोला बिचको कच्ची मोटर बाटोबाट मुख्य नदी मादी हेरियो भने लगभग सुक्खा देखिन्छ। ३ हप्ता अघि खोला वारपार गर्दै तीनवटा गाईहरू खोलामा चरेको देखेपछि अनौठो लाग्यो।
चासुंमा ड्याम बनाएर सुरुङ हुँदै केही तल झारिएको पानीको कारणले सो क्षेत्र सुक्खा भएको हो। गत ५ वर्षदेखि सो क्षेत्रमा नियमित आउने जाने गरेको छु। तर, सो क्षेत्रमा खोलाको बहावलाई पूर्ण रूपमा रोकिएको छ।
खोलाको केही तल चुहिएर वा रसाएर मात्र थोरै मात्र पानी बगेको देखिन्छ। २५ मेगावाटको ‘माथिल्लो मादी जलविद्युत’ आयोजनाको कारणले खोला सुकेर यस्तो अवस्था सृजना भएको हो।
सो जलविद्युतमा चीन र नेपालका कम्पनीहरूको लगानी रहेको छ। सोंधा र सेतीखोलाबिचको मादी खोला पनि अहिले बगरमा परिणत भएको छl
वातावरणविद् बालमुकुन्द पोख्रेल भन्छन्, ‘वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा नै खोलाको औसत प्राकृतिक प्रवाहको कम्तीमा १० प्रतिशत छोडे पछि बाँकी रहेको पानीबाट विद्युत निकाल्ने गरी परियोजनाको परिकल्पना गरिएको हुन्छ। त्यसैले कुनै पनि सिजनमा पानीलाई पूर्ण रूपमा रोक्न पाइँदैन। तर, जलविद्युत प्रबर्द्धकहरुले बर्खामा छोड्छन् तर हिउँदमा सुख्खै बनाउँछन्।’
नेपाल सरकार, बन तथा भू-संरक्षण मन्त्रालयले ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन सम्बन्धि कार्यनीति, २०६५’ मा निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रभित्र जलविद्युत बनाउँदा कति पानी छोड्ने भन्ने उल्लेख गरे पनि व्यवहारमा त्यो लागू हुन् सकेको छैन। पहिलाेपाेस्टबाट
Comments