– आकाश शर्मा
स्थानीय निर्वाचन, २०७९ को तीव्र तयारीमा सबै राजनीतिक दल लागिरहँदा, बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा पाँच वर्ष शासन सत्ता सञ्चालन गरेको नेकपा (एमाले) अलि बढी आत्तिएको छ । एमाले आत्तिनुको प्रमुख कारणमा उसले पाँच वर्ष अगाडि वडा नं. १२ का स्थानीय जनतालाई दिएको आश्वासनको कुनै काम नगर्नु हो भन्ने बुझ्न जो कोहीलाई पनि सजिलो हुन्छ । यही आत्तिएको एमाले, निर्वाचन आचार संहिताविपरीत चुनाव चिन्ह र झण्डा अंकित, टिसर्ट, टोपीलगायतका सामग्री बनाएर निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि निर्वाचन अधिकृतको कार्यालयले चेतावनीयुक्त पत्र पठाएर पछि हटेपनि, उसैले बिना प्रतिस्पर्धा जागिर खुवाएको नगरपालिकाको नगर प्रहरी प्रमुखसमेत सरकारी (सेतो प्लेट)को सवारी साधान प्रयोग गरेर चुनावी प्रचारमा हिँडिरहेको भिडियो बाहिर आएको मात्रै छैन की स्वतन्त्र सञ्चार माध्यमको खोल ओडेर एमाले नेतृत्वको बूढानीलकण्ठ नगरपालिकाको हण्डी खान पल्किएका पत्रकार र सञ्चार माध्यम पनि लागेको प्रष्टै देखिन्छ ।
झुटको खेती गर्न माहिर एमालेले बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १२ मा २०७४ को स्थानीय निर्वाचनमा बाँडेको प्रतिबद्धता पत्रका अधिकांश काम गरेन । एमाले नेतृत्वको वडाले वडावासीलाई झुक्याउने काम मात्र गर्यो । २०७४ को निर्वाचनमा विविधसहित ११ वटा शीर्षकमा उसले व्यक्त गरेको प्रतिबद्धताको पहिलो नं. कै काम अर्थात् सबै वडावासीलाई खानेपानी दिने प्रतिबद्धता पूरा गर्नु त कहाँ हो कहाँ उल्टै भएका पानीका स्रोत पनि अनियन्त्रित डोजर प्रयोगले छिन्नभिन्न बनायो । उसले प्रतिबद्धता गरेअनुसार वडाका घरहरुको नम्बर पनि कतै देखिँदैन । त्यसैगरी उसले नै भनेको सबै सडकहरुमा सडक बत्तीको व्यवस्था गरेको पनि देखिँदैन । प्रत्येक चोकमा सिसिटिभी पनि छैन । सार्वजनिक शौचालय त्यही प्रतिबद्धतामै सीमित देखिन्छ । आनी गुम्बा मिलन चोकको बाढीको समस्या पनि उस्तै छ । १५ मिनेटभन्दा बढी लगातार पानी पर्ने बित्तिकै यस वडाको आधा जसो भूभाग डुबानमा परिहाल्छ ।

महिला सशक्तिकरणको विषयमा पनि एमाले बूढानीलकण्ठ नगरपालिकाको वडाअध्यक्षलगायतको टिमले केही गरेन, गर्यो त मात्र, प्रतिबद्धता पत्रमा लेख्ने काम । उसले महिलालाई उद्यमशील बनाउने भनेर प्रतिबद्धता गरे पनि चुनाव आउनुभन्दा केही दिनअघि मात्र निर्वाचनलाई प्रभावित पार्ने तरिकाले आफ्ना पार्टी निकटमा महिलालाई मुक्तिनाथलगायतका ठाउँ घुमायो । रमाइलो त के भने, महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई सम्मान तथा प्रोत्साहनको व्यवस्था मिलाइनेछ भनेर २०७४ मा आफ्नो प्रतिबद्धता पत्रमा लेखेको एमालेले पाँच वर्षमा त्यस्ता कसैलाई सम्मान त गरेन बरु बहुविवाहका आरोप लागेका एमालेबाट निर्वाचित निवर्तमान वडाअध्यक्षलाई नै आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनायो । यसबाट पनि बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा एमाले कतिको संवेदनशील छ भनेर प्रष्ट नै हुन्छ ।
शिक्षा तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धतामा पनि एमालेबाट निर्वाचित वडा नं. १२ का प्रतिनिधिले हावादारी कुरा नै गरेको हो भनेर प्रमाणित गरिदिएका छन् । वडाको एक मात्र सामुदायिक विद्यालय बालकुमारी विद्यालयलाई सामुदायिक क्याम्पस तहसम्म वृद्धि गर्ने उसको गफ पनि छर्लङ भएको छ । इ-लाइब्रेरी, साहित्य अध्ययन केन्द्र बनाउने भने पनि केही गरेन ।
कला संस्कृतिको क्षेत्रमा पनि पाँच वर्षसम्म बूढानीलकण्ठ १२ मा एमाले नेतृत्वको वडाले केही गरेन । आफूलाई सबै चिजको ज्ञाता बताउने एमालेबाट बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा निर्वाचित वडाअध्यक्षले आफ्नो शक्तिको दुरुपयोग गरी जमिन प्लटिङ गरी बेचेको आरोप पनि स्थानीयले लगाउने गरेका छन् ।

त्यसैगरी, एमालेले भनेजस्तो नवदुर्गा सामुदायिक स्वास्थ्य केन्द्र सामुदायिक अस्पताल बन्ने विषय त परको कुरा उल्टै सामुदायिक स्वास्थ्य केन्द्रको भवनलाई अतिक्रमण गरी उसले वडा कार्यालय बनायो । वडामा एम्बुलेन्स पुर्याउँछौं भन्ने एमालेको प्रतिबद्धता पनि हावादारी गफका रुपमा पुष्टि भएको छ । स्वस्थ जीवनका लागि व्यायामशालामा पनि बनेको देखिएन भने आरोग्य केन्द्रहरु बनाउँछौं भनेर गरेको प्रतिबद्धताको विषय त कहीं कतै सुनेको पनि थाहा नपाएको स्थानीय बताउँछन् ।
त्यसैगरी, बूढानीलकण्ठ १२ मा एमालेले २०७४ को निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार न कतै बाल उद्यान बन्यो, न नै बालमैत्री पुस्तकालय । युवालाई स्वरोजगारमा जोड्न स्वरोजगारमूलक उद्योग खोल्न प्रोत्साहन गर्नेछौं भनेर गरेको प्रतिबद्धतालाई पनि एमालेका वडा अध्यक्षले धोती लगाइदिए । बरु, आफू निकटका मानिसलाई बिना कुनै प्रतिस्पर्धा नगरपालिकामा करारमा जागिर खुवाए । वडाभित्र रहेका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गर्छौं भनेर गरेको प्रतिबद्धताबारे पनि एमाले निर्वाचित जनप्रतिनिधिले पाँच वर्षको अवधिमा कहिले उच्चारण गरेनन् ।
सुशासन, सुशासन भनेर नथाक्ने एमालेबाट निर्वाचित बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का निर्वतमान वडा अध्यक्ष तथा नगरपालिकाको सुशासन समितिका सभापनि (अध्यक्ष)ले त सुशासन भनेको नै बुझेनन् । तीन तलामाथि कार्यालय सञ्चालन गरेका उनले ज्येष्ठ नागरिक र फरक क्षमता भएका वडावासीलाई त उनको कार्यकक्षमा पुग्नै कठिन बनाइदिए, पछिल्लो पाँच वर्ष । यसबाट पनि एमालेले त्यसबेला आफ्नो प्रतिबद्धता पत्रमा वडा कार्यालय प्रशासनसम्बन्धी योजना शीर्षक अन्तर्गत तेस्रो नम्बरमा राखेको बुँदा झुटको पुलिन्दा भएको प्रष्ट हुन्छ ।
सबै विषय भनिरहँदा बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा एमाले नेतृत्वको सरकारले पाँच वर्ष पूरै गफै गरेर बितायो । केन्द्रीय टेन्डरको योजनामा स्टन्ट देखाएको एमाले नेतृत्वको बूढानीलकण्ठ १२ को वडा समितिले २०७४ को निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धताको १० प्रतिशत पनि पूरा नगरेको प्रष्टै देखिन्छ । आफू निकटका कर्मचारी सरुवा, दरबन्दी वा योग्यता नै नपुगेका कर्मचारीलाई शाखाको जिम्मेवारी दिने काममा निवर्तमान वडा अध्यक्षको प्रत्यक्ष संलग्नता देखियो । सुशासन समितिको अध्यक्ष भइरहँदा उनले कहिले पनि मेरिटका आधारमा कर्मचारीलाई प्रोत्साहन गरेनन्, सबैलाई हतोत्साहित बनाउने र आफ्नो काम लिनमा उनी तल्लीन रहिरहे भन्ने आरोप नगरपालिकाका कर्मचारी माझमै रहेको छ । यति मात्रै हैन, उनी आफ्नो सापेक्षतामा काम नगर्ने कर्मचारीलाई त हात धोएरै सरुवा गराउने खेलमा लागिरहे । त्यसैगरी, कतिपय कर्मचारीलाई त घरमै भेट्न आउने समेत बनाए ।
यी सबै विषयवस्तु र कामबाट बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा फेरी पनि उही गफ मात्रै गरी आफ्नो दुहुनु सोझाउने निर्वतमान अध्यक्ष दोहोर्याउने की जनताको प्रत्यक्ष सरोकारका विषयमा तल्लीन हुने भन्ने विषयमा १२ नं. वडावासीले ध्यान दिन जरुरी छ ।
Comments