बैशाख ३० गते हुने स्थानीय तह चुनावले समाजकाे सबै तहतप्कालाइ छाेइसकेकाे छ । उम्मेदवार छनाैट भैसकेका छन् । उम्मेदवारहरू आफ्ना अनुहार लिएर जनताकाे घरदैलाेमा पुगिरहेका छन् । वर्षाैँदेखिकाे याे उपक्रमकाे कर्मकाण्डीयस्वरूप यसपाला पनि जस्ताकाे त्यस्तै देखिदैछ। पार्टीले पठाएका उम्मेदवारहरू कुन आधारमा ताेकिए त्यसकाे सरल एवम् सहज जवाफ पार्टीभित्र नै छैन । उम्मेदवार ताेक्ने मुख्य आधार के भन्ने डरलाग्दाे विषय कुनै छलफल बिनै टुङ्गिएकाे छ । यसमा न दलहरूले चासाे दिए न जनताले ।
अब चुनाव जित्ने मुख्य आधार के हो त? दल वा संगठन नै हाे ? दर्शन, नीति र विचार कि ? तत्कालीन मुद्दा हाे कि ? जाति, नश्ल वा वंश? वा पैसा? कि उम्मेदवारको व्यक्तित्व ?
दलीय व्यवस्थामा दल नै प्रमुख निर्णायक हो यसमा दुइमत छैन । केही स्थानमा दलविहीन उम्मेदवारले जित्लान्। तर‚ त्यसले समग्र व्यवस्थालाई फरक भने पार्दैन। किनकी दल दर्शन, सिद्धान्त र विचारले बन्छ। दर्शन, सिद्धान्त र विचार युग, सामाजिक सम्बन्ध र व्यक्तिबाट जन्मिन्छ। खास खास काल र परिस्थितिमा खास खास व्यक्तिहरूको जन्म हुन्छ‚ जसले इतिहासको बाटोलाई अन्तैतिर मोडिदिन्छन्। त्यस्ता व्यक्तिहरूलाई महान् नेता मानिन्छ।
स्थानीय निर्वाचनमा त्यो अवस्थासम्मको सम्भावना रहँदैन। चुनावमा भाग लिने दलहरू खास दर्शनबाट निर्देशित छन्। नेताले दर्शनको व्याख्या गर्छन्। कार्यकर्ता त्यसको अनुसरण गर्छन्। आफ्नो दलका दर्शन, नीति तथा विचार बुझेका, स्थानीय सापेक्षतामा दलको कुरा लागू गर्न सक्ने र जनताले रुचाएका व्यक्तिले चुनाव जित्ने हो। तर‚ पछिल्लो कालखण्डमा दर्शन, नीति र विचार पक्ष क्रमशः ओझेल पर्दै गएका छन्।
व्यक्ति हावी हुँदै गएको छ। टिकट पाउनकै लागि दल फेरिरहने, दलहरू पनि चुनाव जित्ने व्यक्ति खोजी गर्ने नाममा दलको दस्तावेज थाहा नभएको व्यक्तिलाई टिकट दिने प्रचलन छ। देखावटी रूपमा चुनाव जित्ने मान्छे भन्ने‚ अदृश्य रूपमा आर्थिक लेनदेनको भूमिका देखिने गरेको छ। अब दल‚ विचार, मुद्दाले होइन, व्यक्तित्वले चुनाव जित्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ। चुनाव जित्ने आधार पैसा सहितको व्यक्तित्व भएको छ।
चाेक गल्लीमा हुने चुनावी गफमा नीतिका कुरा हुँदैनन्। दलको सिद्धान्तका कुरा हुँदैनन। दलका घोषणापत्रका अन्तर्वस्तु त विषय नै होइनन्, गफका। दलका हुन् वा स्वतन्त्र, समाजमा स्थापित नेतृत्व तीन किसिमका देखिन्छन्। एक, जनतामा भिजेर निरन्तर काम गरिरहने। दुई, जनतासँग राम्ररी घुलमिल हुन नसक्ने तर काम गरिरहने। तीन, वैचारिक रूपमा अध्ययनशील, जनतामा भिजेको र निरन्तर काम गरिरहने।
समाजको चाहना एकातिर हुन्छ, आवश्यकता अर्कै हुन सक्छ। असल नेतृत्वले दुवै पक्षलाई सन्तुलन गरेर समाजलाई अगाडि बढाउँछ। तर‚ शक्तिलाई व्यक्तिगत आर्जनको माध्यम बनाउने, समाजको चाहनालाई सम्बोधन गर्ने नाममा समाजलाई भ्रष्टीकरणतिर लैजाने नेतृत्वको प्रभाव बढ्दै गएको छ। सकारात्मक विशेषतायुक्त नेतृत्व दुर्लभ बन्दै गएको छ।
पैसाका कुरा हुन्छन्। पूरै देशको नेतृत्व गर्ने हैसियतमा नेतृत्वपङ्क्तिमा रहेका व्यक्तिहरूले पनि चुनाव खर्चको विषयलाई लिएर करोडौं रकमका धाक लगाएर राष्ट्रिय रूपमा विवादित बन्ने प्रवृत्ति खतरनाक फस्टाएको छ। स्थानीय तहमा त झन् मौलायो। फलानासँग यतिसम्म पैसा खर्च गर्न सक्ने क्षमता भएकाले जित्छ भन्ने निष्कर्ष स्कूलका चुनावी गफमा सुनिन्छ। अनुहारको बनोट, जाति वा नश्लले पनि महत्त्वपूर्ण प्रभाव पर्छ। फलाना जाति भएकाले फलानाले जितेको भन्ने बुझाइ धेरैको छ। जताततै कार्यकर्ता‚ सदस्य एउटा दलको, चुनाव जित्ने अर्को दलको पनि देखिएको हो।
‘पार्टी होइन‚ व्यक्ति रोजौं’ भन्ने आह्वान जताततै सुनिन्छ। तर‚ समाजमा जतिसुकै स्थापित व्यक्तिले प्रमुख पदमा जिते पनि पालिका सभामा शक्ति सन्तुलन ठीक नहुँदा ठीकसँग काम नभएको देखिएको छ। बहुमत सदस्य एकातिर, प्रमुख अर्कोतिर हुनाले पालिकाका महत्त्वपूर्ण निर्णयहरू हुन सकेनन्। कतिपय अवस्थामा त बैठक नै बस्न सकेन। दलीय प्रणालीमा दलको तर्फबाट चुनावमा उठ्ने हरेक व्यक्ति दलको नीतिभन्दा बाहिर जान सक्तैनन्। स्कूलभित्रका गफ सुन्दा समाज भ्रष्ट पथमा लैजाने कामलाई शिक्षक, कर्मचारी र व्यवस्थापकहरूले मनौवैज्ञानिक रूपमा सहयोग गर्दै त छैनन् भन्ने आभास हुन्छ।
Comments