साहित्य

साहित्यमा साैन्दर्य

0

  • डा. बाबुराम तिमल्सेना

कृति पढ्दा मन प्रफुल्ल होस् । हृदयलाई स्पर्श गरोस् । अरुको दुःख मेरो दुःख अरुको सुख मेरो सुख भन्ने मनमा जागोस् । “तन्मे मन शिव संकल्प मस्तु” भन्ने भाव अङ्कुरित होस् । वैश्विक कल्पना सागरभन्दा गहिरो र आकाशभन्दा उँचो होस् । करुण रसले ओतप्रोत भई विश्व मानव र मानवेत्तर प्राणीमा दया र करुणाले सिञ्चित गर्ने गरोस् ।

 

समाजमा कुन कुराको ज्ञान आवश्यक छ र अहिलेसम्म कुन ज्ञानले नेतृत्व लिँदै आएको छ ? समाजका व्यक्तिहरूमा कस्तो शिक्षा आवश्यकता छ ? त्यसका लागि चुन्ने बौद्धिक विषयहरूमा विम्ब, प्रतीक, अर्थ र ज्ञानको उचित व्यवस्थापनका भूमिकाको माध्यमबाट सिर्जनाभित्र यसले स्थान पाओस् (मनप्रसाद वाग्ले र लेखनाथ पौडेल, २०६० ः ४८) भूतकालीन, समाजको राम्रो र सकारात्मक पक्षलाई आत्मसात् गरोस् । वर्तमान समाजले कुन प्रकारको ज्ञान खोज्दै अगाडि बढ्दै छ । त्यसको ख्याल गरोस् । कला कृति पढेर सुनेर समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने ख्याल गरोस् ।

 

अहिले संसारमा भएका सञ्चार र विद्युतीय प्रविधिको विकासले ज्ञानको मात्र कतै खुम्चिँदै छ त कतै अब्बल किसिमले बढिरहेको छ भन्ने थाहाँ पाउदै लैजाओस् । हर्बट स्पेन्सरले प्रश्न गर्छन् “कुन ज्ञान सबभन्दा बढी जीवनमा काममा आउने हो ? भन्ने ध्यान दिदै गरिएका कलाकृति सुन्दर हुन्छन् (उही ः ४८) ।

 

सर्जकले कलाकृति सिर्जना गर्दा समाजलाई ध्यान दिई प्रवाह गरीकन प्रक्षेपण गरिने ज्ञानको प्रकृतिलाई हेरेर मात्र आफूद्वारा पोख्न र पस्कन खोजेको ज्ञान कसरी प्रस्फुटन गर्दा दोस्रो पाठक तथा भावकको मनको अनुकूल हुन्छ त्यो कुरा कक्षामा पढाउने शिक्षक होस् या साहित्य, काव्य लेख्ने लेखक होस् उसले एकबाट अर्कासम्म पु¥याउने आफूलाई सेतु ठानोस् र समाज अनुकूल बनाउन अहोरात्र लागि पर्नुपर्छ र यी कुराप्रति दत्तवित्तका साथ बुझनुपर्ने हुन्छ ।

 

ज्ञानको भाँडो उघारेर मन मस्तिष्कबाट स्पर्श गरी पाठक र भावकमा पु¥याउनका लागि आवश्यक साधन र स्रोतको प्रयोग गर्ने प्रविधि र प्रयोग औचित्यसहितको ज्ञान हस्तान्तरण गर्न सक्ने चिन्तन मात्र सुन्दर हुन्छन् । छिचिमरा जस्ता छ्ययाप्छयाप्ती सिर्जना गरिएका कला र शिक्षालयहरू आज आर्थिक अभावका कारण प्रयोगात्मक ज्ञान दिन सक्षम छँदै छैनन् । यसकारण मार्मिक हृदयस्पर्शी ज्ञान बाँड्न सक्ने शिक्षालयमा स्तरीय पुस्तकालय हुनु र त्यही स्थानमा बसेर व्यावसायिक र सीपमूलक ज्ञान आर्जन गर्न राज्यले शिक्षाकर्मीका लागि उल्लेख्य क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।

 

बजेटको २० प्रतिशत विनियोजन रकम सरकारबाट प्राप्त गर्न वैश्विक नियम भए पनि आज भोलिका विद्वान्हरूबाट आर्थिक प्रलोभनको कारण आवश्यक विषयलाई सही सुदपयोग नगरीकन सभा, सेमिनार, गोष्ठी गरेर रकमको दुरुपयोग गर्ने गरिएको तथ्य पनि हाम्रा सामु दिनदिनै बाहिरिँदै आइरहेको छ । जाकिर हुसेनले “कुनै पनि धर्मको निचोड परोपकार हुन्छ भन्दछन् । समाजमा सुख शान्ति र उन्नति गर्नु अगि धर्मको मर्मलाई सही ढंगले कर्ममा उतार्ने काम शिक्षालयले गर्ने गर्छ र नयाँ पुस्तालाई शिक्षित बनाउँदै लैजाने गर्छ ।

 

त्यसमा पनि हाम्रो जस्तो विकासका लागि बामे सर्न लागेको देशमा सीपमूलक, व्यावसायिक शिक्षातर्फ अग्रसर गराउनु समेत राजनीतिकर्मी र नागरिकको कर्तव्य भित्रै पर्छ । त्यसो गर्न सकिएन भने जनताको पेटमा सारङ्गी बज्न सक्तछ । त्यसकारण धर्मको मर्म उल्टोतिर घुम्न थाल्छ । कुनै पनि व्यवसाय, सीप, संस्कृति र संस्कार धर्मको संरक्षण गर्न त्यस देशका बसिन्दा शिक्षित नभई हुँदैन । उचित शिक्षाविना सभ्य समाजको निर्माण कल्पनामा मात्र सीमित हुन्छ (युवामञ्च, २०५३ वर्ष ९ अङ्क ४ पृ. ३) ।

 

समाजका उपेक्षित वर्गका दर्दपीडा र व्यथा हेर्दा उनीहरूको अवस्था कहालीलाग्दो छ । कलाले अभिव्यक्त गर्ने भावले उनीहरूको मर्म र पीडालाई मलमपट्टि लाउने साहित्य सिर्जना भयो भने सुन्दर हुन सक्तछ । मनले परचव्क्री रोगको घाउमा काम्रो बाँध्न सकोस् । बाल साहित्य र बालकलाकारका खेलौना र बाल व्रmीडालाई प्रतिनिधित्व गरी उनीहरूका व्रिmयाकलापलाई कलाले चियाउन सकोस् । प्रत्येक शब्द, पद, पदावली र वाक्यहरूका पगपगमा नवैवटा रस, तीनैवटा  गुण र अनेकाँै अलंकारले ध्वनित गर्दै सुसज्जित होस् । मानिसको मनले हिउँ र हिमालका गल्छेडा र चुचुरोमा झरेको फुसफुसे हिउँसँग चिलेटी खेल्न, नाच्न, घुम्न एवं रमण गर्न सकोस् । गैह्रा, पैंडाका अँधेरी र खोल्सी खोल्सामा रमाउँदै साहित्यिक कला लुकामारी खेलोस् । गौँडा, गल्छेडामा रनवन गर्ने कोकले र कोइली वसन्त ऋतुको आगमनका बेला स्वरमा स्वर खाप्तै रामरसको आनन्दित कलालाई प्रस्तुत गरोस् ।

 

समाज शास्त्रावगतिमवेदितस्तथेतिहासादि नयादि बुद्धयते ।
न, केवलेयं पदसिद्धिसंहिता द्विजत्वसंपादनसंचिकाऽइता ।

 

पाणिनिको अष्टाध्यायीबाट समाजशास्त्र, इतिहास, राजनीतिशास्त्र र धर्म आदि अनेकौं विषयको परोक्ष अपरोक्ष रूपबाट रूपबाट स्थूल, सूक्ष्म दुवै ज्ञान हुन्छ । यो केवल संस्कृत व्याकरणको पदको भारले मात्र सिद्धि हुँदैन । यसको द्वारबाट भित्र पस्ने मानिसलाई उन्नत, शिष्ट, सभ्य र भव्य बनाउँछ । यो भाषालाई संस्कारित बनाउने अद्भुत र अतुलनीय पौल ज्ञानको ताला र कुञ्जी हो । यसैका आधारमा पं जवाहरलाल नेहरुले भन्थे कि “समाजलाई सुसभ्य, सुसंस्कृत र विश्वको माननीय बनाउन यस्ता गुणबाट सम्पन्न बनाउनु छ र आफ्ना छोराछोरीलाई बाल्यकालदेखि नै पाणिनि पद्धतिबाट संस्कृत शिक्षा दिलाउन विशेष ध्यान दिइयोस् ।” संसारमा पाणिनि समान शिक्षाविद् न भए न भोलि हुन्छन् नै । यसैलाई मनन गरी लेखिएका कलात्मक रचनाहरू अवश्य सुन्दर हुन्छन् ।

 

यस्तो अमूल्य रत्न परतन्त्रतन्त्र कालमा ओझेल परिरहेको थियो । अब नासाले समेत पाणिनिकालीन भाषाको महत्व स्वीकारी सकेको छ । यसको ज्योति आज संसारभर फैलिरहेको छ । यो विश्वको गुरु शास्त्र हो । आधुनिक र वैज्ञानिक कालभरी नै यसको गुरुत्व फेरि एकपटक प्रदीप्त हुदैछ । यो ध्रुव सत्य हो । यो अवश्यमेव चम्कन्छ नै । पाठक र श्रोताले मूल ग्रन्थ मानेर पढने पढाउने गर्नेछन् । शिक्षा पठन सिकाउने सुन्दर कृति यसैको जगमा टेकेर सिर्जित हुन सक्तछ । कलाकार र साहित्यकारले यसैका आधारबाट “वादेवादे जायते” का रूपमा नवीन रचना रचिरहून् (अष्टाध्यायी, १९८१ ः भूमिका पृ. ९) ।

 

अतः सुन्दर रचनालाई सौन्दर्य प्रदान गर्नका लागि पूर्वीय र पाश्चात्य दुवैको ज्ञान मात्र पुग्दैन साहित्यले शोध खोजका आधारमा अध्ययन गरिनु आवश्यक छ । यसले दुई खुट्टे मान्छेबाट मनुष्य बन्ने, बनाउने ज्ञान उत्पादन र प्रशारण गर्छ । मनुष्यबाट समाजपयोगी नागरिक यस्तैको अध्ययन मननबाट बन्नेछन् ।

 

कला रचकबाट झुप्रा, सेउला, फरिखा र झोपडीको सजीव चित्र उसका सिर्जनामा उत्रोस् । त्यस भित्र बसोबास गर्ने नारी र महिलाका विहान बेलुका चोलाचौकामा छमछम चुरा, बजून् । बाल बच्चाका हाँस खेलको रमाइला झुत्रा, कपडा जोडेका पुतलीलाई बेहुला बेहुली बनाएर खेलेको चित्र उत्रोस् । झुम्राबाट रालेका रङ्गीचङ्गी कपडा, फाटेका लुगाहरू टल्कून् । भाडाँमा सेतो भात फलामे कुडे र कराहीमा तात्तैगरेको सेतो दूध र डेक्चीमा दाल, डुकुको तरकारी, रिकापीमा चटनी र अचारको पिरोपिरो अचारको स्वाद लिदा जिब्राबाट तरर पानी वगोस् र स्वाद लिई लिई खादै गरेका थोते बुढाबुढी, मस्त युवायुवतीले टम्म मिलेका दातद्वारा चपाउँदै गरेका ठेट्ना मकै र भटमास, बुढाबुढी युवायुवती तन्नेरा, तन्नेरी र बालबालिका दलान र आँगनमा रमाउँदै गरेको चित्र काव्यमा छङछङाओस् ।

 

त्यस्तो काव्य पो सुन्दर हुन्छ । जन्म मृत्युको बीचमा दौडेको जीवन पद्धति, कर्मपद्धति एवम् मृत्युपछिको जीवन जगत्को समता र विषमताको तुलना गर्दै अगाडि बढेको कला र साहित्य रोचकिलो र सुन्दर हुन्छ । वैश्विक खेलहरूका नियम, विधिसँग रमाउँदै चटकेले देखाउने तमासा, काव्यमा मूर्तिकारका मूर्तिका कला र स्वदेशी खेलहरूलाई प्रोत्साहित गर्दै लेखिएको साहित्य रमणीय हुन्छ । बाल, युवायुवतीलाई आकर्षण गर्ने कार्टुनका खेलहरूले कलाभित्र स्थान पाउन् तब पो कला सुन्दर हुन्छ ।

 

ध्वनि, वर्ण र अक्षरका ताती र भाँतीका लहरले जीवनका शिवले पार्वतीलाई गुह गोप्य रहस्यलाई खोतल्दै लौकिक ज्ञान प्रदान गर्ने रचनाहरू सुन्दर हुन्छन् । शरद ऋतुको  आकाश र वर्षा भेल समाप्ति पछिको पृथ्वी सुन्दर हुन्छ । धर्ती सफा वर्षाका डाङडुङे भेलले बाटाघाटा, खोला खहरेको सुन्दर दृश्य प्रस्तुत गरिएको कला र गला निश्चित रूपमा सुन्दर हुन्छ । मौसम अनुसारको मनमा खुशी र बेखुशी ल्याउने प्रकृति ढकमक्क फूलेको गुराँश र चैत्रको हुरहुरे हावा हुन्डरीले उडाएको धूलो, पातपातिङ्गर उडेर अन्धकारमय भई छोपेको र सताउने गरी अतालिएको मानव जीवनका व्रिmयाकलापलाई साहित्यले बोकेर हिडोस् । तब पो साहित्य रसिलो हुन्छ । तरूण र तन्नरीहरू ढुकुमुकु ढुकुमुक कस्को हात ? राजाको कि रैतीको भन्दै राम रोसका क्रिडा गर्दै गरेको रमेको जोवन फूल्दो आहलादमय जीवनको प्रस्तुति गरिएको कला सौन्दर्य हुन्छ । (१) तारावाजी लै लै, मामा आए घोडी…. (२) कोकलेको बारीमा भ्यागुताले छेरे छ र (३) नाचन नानी नाचन पैसा दिउला पाँचाना जस्ता बालबालीका तोते बोली भएको कला सौन्दर्य हुन्छ ।

 

एकान्तवास बसेका पोथी, रन वनको कुना काप्चा र ढिस्को ढिकुरो आदि छलिने स्थानका कुना काप्चामा बसेर तरुण तन्नेरीले यौवन रसलाई पिउँदै, दोहाेरी गीतद्वारा भरपूर मनोरन्जन प्रदान गर्न सक्ने सुशोभित काव्य कला सुन्दर हुन्छ । श्रृङ्गार रसको अनुभूति गर्दै चकमन्न अवस्थामा रहेको भौतिक शरीरले भौतिक शरीरलाई आलिङ्गन गरेको मनोमय कल्पनाको छेलोखेलो भएको काव्य पढ्दा सुन्दा पाठकको मन, विचार र शरीरलाई आफू पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने रोमाञ्चित पार्छ ।

 

वृद्धवृद्धाहरू धर्मशालामा रहँदा बस्दाको भोगाइ, वृद्धवृद्धामा छोराछोरीले धनसम्पति हडप्पेपछि आश्रमतिर पठाउदाको पीडा आश्रम वा घरका दलान पीढी र पेटीमा बसेर आफ्नो पूर्व शरीरलाई तुलना गर्दै चाउरी मुसार्दै एउटाले अर्कालाई अर्काले अर्कालाई परस्परमा माया साटासाट गरेको र माया भावमा चिमोट्तै गरेको कला सौन्दर्य हुन्छ । लटरम्म बालीनाली, वारी र खेतका गरा, खला र कान्लामा बोडीका झुप्पाका झुप्पा, कोसा, गेडा, दाना र बाला लड्किदा त्यसका घरधनी मालिकलाई त्यो दृश्य हेर्दा जुन आनन्द आउँछ त्यस्तो प्रकृतिमय रचनाहरू सुन्दर हुन्छन् । वर्षा ऋतुमा खेतका गरागरामा टम्मटम्म टिलपिल हुनेगरी भरिएका खेत र खेतबाट झर्दै गरेका खलल समाहाको स्वरूपलाई कैद गरिएको काव्यमा प्रस्तुत गरेको चित्रहरू हेर्दा सुन्दर हुन्छ । मकैका हरिया बोटका धान, चामर र घोगा लाग्न लागेका मकैका रङ्गविरङ्गले भरिएका थरिथरीका जुँगा हेर्दा मनलाई नै लोभ्याउँ छन् र आनन्द हुन्छ ।

 

शरद ऋतुमा बग्ने हिमाली छाँगाहरू र झर्नाहरू, वर्षाका याममा मात्र खुलखुल बग्ने खोला र खोल्साहरू हेर्दा स्वदेशी मात्र होइन विदेशी नै आकर्षित हुन्छन् । त्यस्तो साहित्यको चित्र सुन्दर हुन्छ । पहाडका कुना कन्दराका गुँफा, ढुङ्गै ढुङ्गाले भरिएका ती चहाना र ढुङ्गामा उम्रिएका झयाँउ हेर्दा अवश्य आकर्षक लाग्छन् । जंगलमा जोडी भई लुकामारी खेलेका दह, खोल्सा खहरे र खोलामा पौडी खेलेको आनन्दले काव्य सुशोभित हुन्छ ।

 

खोला खोला, खोल्सा खोल्सीमा घाँसे र घसिनीले सिलासिलो गर्दै डोको, भरेको नाम्लो लगाएको र भारी बाँधेर उकालोमा गीत, गजल र गाउँले गीतको हाँसखेल सुन्दर हुन्छ अँधेरी पधेरीमा नाँचेको साहित्य र कलाका छटाहरू स्वतः राम्रा र रमाइला हुन्छन् । जन्म पछि मृत्यु, मृत्यपछिको जन्म र चौरासी हजार पटक गर्भवास गर्दै जन्म हुन्छ भन्ने सोच बोकेको कला रमणीय हुन्छ । मृत्य पछिको जीव पुगेर वास गर्ने स्थल, ब्रहलोक, गोलोक, वैकुण्ठलोकको ब्रहवास सरल, सरस र सहज सौन्दर्य हुन्छ । प्रकृतिको एउटा अणु र परमाणु मानिस हो भने उसको जीवन पनि प्रकृति अनुकुल नै हुन्छ भन्ने आधार र सम्भावित प्रयोग गरिएको कला झनै सुन्दर हुन्छ ।

 

नेपालका भूगोल भित्रका जडिबुटी, खनिज पदार्थ, खानी, जलश्रोत, औषधिको अन्वेषण, प्रतिशोधन गर्ने तरिकालाई सुसूचित गरिएको काव्य सौन्दर्य हुन्छ । किसानका खेतवारीका विरौटा, गहिरा गहिरा ढाँड, पहिरो रोक्न बनाइएका तारका जाली, पर्खालको कलात्मक चित्रण र संरक्षण गरिएको कला आकर्षक हुन्छ । रोपाइँको असारेगीत, दगेरेको दाइँको गीत, माँगलिक कार्यमा गाइने मांगलिक गीतका ध्वनिहरू समेटेर प्रस्तुत गरिएका कला सौन्दर्य हुन्छ । ठूलाठूला ढुङ्गाको सदुपयोग, बालुवा गिटी, चुनढुँङ्गा खोला खोल्सा भित्र अंधेरी पधेरीमा पाइने तुलफूल, फलफूल वनऔषधिहरू जस्ता अमूल्य रत्नको तस्विर र शालिकरामको विशेषता, अध्ययन, अनुसन्धान गरी लेखिएका कलाहरू सौन्दर्य हुन्छन् ।

 

हिमाली भेगमा गाइने भोटेसेलो, मध्यपहाडमा धर्कने र रन्कने घसियाँ गीत, उमेर पुगेका केटाकेटीका बीचमा गाइने रोदीघर, दोहोरी, मालश्री र तराईका साँस्कृतिक पर्व पर्वमा लयमालय मिलाएर रत्कने होली र मांगलिक गीत आदि कैद भएको काव्य सौन्दर्य हुन्छ । गरीबका झुप्रामा ध्वाँउँने धुँवा, धनाढ्यका महलमा नाँच्ने भान्से र वेटरको मिजासिलो प्रस्तुतिले कला सौन्दर्य हुन्छ । असक्त र विपद अवस्थाका महिला, युवती, आमा र विधवाको यौवन, उमेरबाट विरक्तिएका आत्मकथाले कला सौन्दर्य हुन्छ । ब्राहण, क्षत्री, वैश्य र शुद्रका आचरण, धर्म चरित्र र कामको वर्णनले काव्य सौन्दर्य हुन्छ ।

 

हलो जोतिरहेको हली, गाईबाख्रा वनमा चराउन लैजादै गरेको गोठालो, भकारो या गोबर सोहोर्दै गरेको कान्छो र कान्छीको जीवन चर्याको चित्रण गरिएको दिव्यकला सुन्दर हुन्छ । लटरम्म फूलेका फूलफूलको सुगन्ध र वगैंचामा फूलेका फूलमा खिलेका भ्रमरा र मौरीहरूका आवाजको ध्वनीबाट कला सौन्दर्य हुन्छ । राजमहल र श्मसानघाटको समता देख्ने र भाग्यवादमा विश्वास गर्नेभन्दा कर्मका मर्मको चित्र कोरिएका कलाहरू सुन्दर हुन्छन् । दर्शनका आधारमा भूत, भविष्य र वर्तमानका विषयवस्तुको उद्देश्य, लक्ष्य र स्वरूपको विस्तृत आयामको समग्र अध्ययन शिक्षा हो । दर्शनले जड र चेतनको उद्देश्यहरू स्पष्ट पार्छ र सत्यको खोज गर्ने काम गर्छ । दर्शनले सत्यज्ञान दिनु हो ।

 

यसले जुन सत्यको खोज गर्छ त्यो परमतत्व हो । यसैमा विश्व आधारित छ । परमतत्वको ज्ञान शिक्षितबाट मात्र हुन सक्तछ । शिक्षाद्वारा सत्य ज्ञानको प्राप्ति हुन्छ । सत्यताले गर्न हुने र नहुनेको विवेक पैदा गर्छ । विवेकका कारण राजनीति, राष्ट्रप्रेम, मातृत्व प्रेम र सबैमा बराबरी आँखाले हेर्ने शिक्षा दिन्छ । शिक्षा र दर्शनको अभिभाज्य सम्बन्ध छ । दर्शन साध्य हो भने हाम्रो शिक्षा साधन हो । पूर्वीय मनीषिले “सा विद्याया विमुक्तये” भनेर शिक्षाको महत्व दर्शाएको छ ।

 

विद्याको ज्ञानले मानवतावादी बनाओस् न कि अराजककारी दैत्य, दानव र राक्षसवादी बन्ने प्रेरणा गुरु, राजनेता, प्रशिक्षक, प्रवक्ता, उद्घोषक, वक्ताका कथनोपकथनले मानवतावादी बन्ने सूचना, शिक्षा, मनोरञ्जन र प्रेरणा पैदा गरिरहोस् । अविद्याले भने भौतिकवादको प्रतिनिधित्व गर्छ । पूर्वीय दर्शनले परोपकार, पशु पंक्षी कीट पटङ्गको सेवाभाव र संरक्षणबाट मात्र मानवतावादी भाव पलाउँछ भन्छ । मानव आफ्नो व्यवहारिक व्यवसायिक जीवनका लागि आवश्यक पर्ने अनन्त सीप र व्यवसाय सिकोस् । सिकेका विषयबाट आफू, परिवार, छरछिमेक एवम् समाजले समेत चरम आनन्द दिन सकोस् त्यही मोक्ष हो ।

 

बौद्ध र जैनले मुक्ति र मोक्षलाई निर्माण र कैवल्य भने । शास्त्रीय अवधारणा अनुसार केवल मृत्यु हुनु मोक्ष होइन । मृत्यु मानव जीवनमा निहित विकार र कुविचारको भौतिक शारीरिक शिथिलता पछिको जीवले छोडे र जाने अन्त मात्र हो । अन्तका साथमा मानव व्यक्तित्वका अवस्थामा गरेका सकारात्मक नकारात्मक चिन्तन र चिन्ता पूर्व जीवनले धारण गरेका गुण अवगुण साथमा लिएको हुन्छ ।

 

मानव व्यक्तित्वको पूर्णता आश्रमका साधनाले र योग ध्यान, समाधिबाट पनि मदाकदा प्राप्त पनि हुन सक्तछ । नहुन पनि सक्तछ । द्वन्दै भित्रै मानिसको मनुष्यत्व रहन्छ । सामाजिक समग्रता, समता र पूर्वता स्थापित भयो भने यो पनि एक किसिमको जीवनको मुक्ति नै हो । शिक्षाले गर्दा नै मनुष्यमा समग्रता, सामीप्यता, सारूप्यता र पूर्णतातर्फ दिनप्रति जीवनलाई धकेल्ने गर्छ । यस किसिमका भाव प्रस्फूटन गरिएको काव्य सौन्दर्य हुन्छ ।इकागज

तिर्खा लाग्नुअघि नै पानी पिउनुपर्छ

Previous article

बुढानिलकण्ठका दलहरूलाइ सूचना, संचार तथा पत्रकार हकहितका कुरा घाेषणापत्रमा राख्न १४ बुँदे सुझाव

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *