प्रकृतिवातावरणविकास

सामुदायिक वनमा फलफूल खेती

0

हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । बाग्लुङ काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो ।

 

बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ ।

 

जापानिज नास्पाती, एभोकाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताए। साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उन ले बताए ।

 

डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए । रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उनले बताए । वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ ।

 

“चिलौने, उत्तिस, अँगेरीलगायतका बिरुवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन”, उनले भने, “वनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।” वन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले भनेको छ ।

 

बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुरलगायतका औषधिजन्य जडीबुटीबाट सामुदायिक वनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताए । “फलफूलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफूल लगाउने गरिएको छ”, उनले भने, “बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।”

 

रेशमा नौ सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले सुनाए । अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरुवा लगाएको वडाले ती बिरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ ।

 

पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायिक वनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।

‘तपाईंहरूको आवाज कहाँ छ ? “माटो जोगाऔं” भनेर बाेल्न ढिलाे भैसक्याे

Previous article

तिर्खा लाग्नुअघि नै पानी पिउनुपर्छ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *