संसारभर माटो जोगाउने अभियानमा जग्गी वासुदेव अर्थात् सद्गुरुले जेनेभास्थित संयुक्त राष्ट्रसंघलाई सम्बोधन गरेका छन्। सद्गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न सम्बोधनमार्फत आह्वान गरेका छन्।
सद्गुरुले ‘तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ’ भन्दै माटो जोगाऔं अभियानको समर्थनमा जेनेभास्थित भारतको संयुक्त राष्ट्र मिसनमा स्रोताहरूलाई सम्बोधन गरे। ‘मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु। सबैले भनिरहेका छन्, तर यो अघि नबढी मर्नेछ।’ सम्बोधनको सुरुआतमा यो टिप्पणी गरेर हाँस्दै, उनले विश्व समुदायलाई माटो जोगाउनका लागि भावपूर्ण अपिल गर्दै भने, ‘हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै हो’, माटोको चमत्कारिक गुणबारे उल्लेख गर्दै उनले बताए, ‘यदि तपाईंले माटोमा मरेको कुरा हाल्नुभयो भने पनि, त्यसबाट जीवन अंकुुरित हुन्छ। यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्माण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान पनि छैन।’
संयुक्त राष्ट्रसंघले द्रुत गतिमा माटो खराब भइरहेको हुनाले यसबाट निकै भयानक खाद्य संकट निम्तिन सक्ने, जसबाट अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न सक्ने चेतावती दिएको थियो। माटो जोगाऔं अभियानको उद्देश्य विश्वभरिका नागरिकहरूलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनका लागि एकत्रित गर्नु हो। माटोको विनाशले विश्वस्तरमा अकल्पनीय उथलपुथलहरू निम्त्याउन सक्ने अनुमान गरिएको छ। भोजन तथा पानीको अभाव, गृहयुद्ध, जलवायु परिवर्तनको प्रतिकूल असर अनि संसारैभरि अनियन्त्रित स्थानान्तरण समेत हुनसक्ने आशंका संयुक्त राष्ट्रसंघले गरेको छ। यो चुनौतीलाई तत्काल सम्बोधन गर्नुपर्ने कुरामा जोड दिँदै सद्गुरुले भने, ‘विश्वभरि माटो खराब हुँदै गएको स्थितिलाई रोक्न र उल्ट्याउनका लागि नीति निर्माणको काम अहिल्यै हुनुपर्छ।’
लोकतन्त्रमा जनताको आवाज महत्वपूर्ण हुने कुरामा जोड दिँदै सद्गुरुले कुनै पनि सरकार जनताको आज्ञा पालना गर्नका लागि चुनिने बताए। उनले थपे, ‘लोकतान्त्रिक राष्ट्रमा दुईवटा कुरा शक्तिशाली हुन्छन्। एउटा तपाईंको भोट, अर्को तपाईंको आवाज। म सोध्न चाहन्छु, तपाईंहरूको आवाज कहाँ छ ? आफ्नो निम्ति र पूरै विश्वको सरोकारका लागि तपाईंले अहिलेसम्म के कुरा बोल्नुभएको छ ? अब बोल्ने समय आएको छ। अहिलेका पिँढीको हातमा जुन साधन छ, त्यसको सही प्रयोगले पूरै विश्व परिवर्तन गर्न सकिन्छ।’
सद्गुरुले अगाडि भने ‘जबसम्म नागरिकहरूले यो कुरा खुलेर स्पष्ट रूपमा व्यक्त गर्दैनन्, उनीहरू आफ्ना नेता र नेतृत्वकर्ताबाट राष्ट्रको दीर्घकालीन भलाइतर्फ लगानी भएको हेर्न चाहन्छन्, तबसम्म निर्वाचित सरकारहरूले केही गर्न सक्दैनन्। यी १०० दिनहरूमा, हामी चाहन्छौं कि ३-४ अर्ब मानिसहरूले यसबारे बोलुन्। तपाईंले मलाई समर्थन नगरेपनि हुन्छ। तर, हरेक दिन माटोका बारेमा केही बोल्नुहोस्।’
माटो विनाश हुनबाट जोगाउनका लागि सद्गुरुले गत महिनादेखि विश्वव्यापी अभियान सुरु गरेका थिए। यसै अभियानअन्तर्गत उनी जेनेभा पुगेका हुन्। आफ्नो सय दिने यात्राको क्रममा १६औं दिनमा सद्गुरु रोमबाट जेनेभा पुगेका थिए।
Comments