माैसम तथा सिजनका हिसाबले कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा यतिखेर चहलपहल बढ्ने बेला हाे । हिउँ बिलाउन साथ सडकमार्ग पनि सञ्चालनमा आएपछि फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । रारा घुम्ने मौसमको सुरुवातसँगै आन्तरिक पर्यटक रारा आउन थालेको घोडामा पर्यटक ओसार्दै आएका युवा कमल रावल बताउँछन् । उनका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।
पर्यटकहरुको आपतकालीन उद्धारका लागि पनि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको विशेष टोली तयार रहेको मेजर क्षेत्रबहादुर लामाले बताए । मुर्मा गाउँका होमस्टे संचालक रहेका शिक्षक रत्नबहादुर रावलले मुर्मामा अहिले ८० घर होमस्टे व्यवस्थापन गरिएको बताए । ‘रारा घुम्ने मौसम सुरु भएपछि होटलमा खानपिनका लागि खाद्यान्न जोहो र कोठा व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘पर्यटकलाई कोसेली दिन विभिन्न स्थानीय उत्पादन पनि होमस्टेमा ल्याइएको छ।’ अब रारा वरिपरिका जंगलमा काफल पाक्ने, विभिन्न रंगका गुराँसहरु फुल्ने र वन जंगलमा गुच्ची च्याउ उम्रिने भएकाले पनि पर्यटकले फरक आनन्द लिन सक्ने उनको भनाइ छ । अहिले रारामा असला माछाहरू पनि तालको छेउछाउमा प्रशस्त देखिने गरेको उनले बताए ।
Comments