देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ५६ स्थानमा डढेलो लागिरहेको छ । तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । बारा–पर्सा–रौतहट क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । केही पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ । वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार पर्साका २०, बारा र रौतहटका ७–७ र चितवन ४ स्थानमा डढेलो लागिरहेको छ । मकवानपुर र उदयपुरका ३–३, दाङ र सुनसरीको २–२ स्थानमा डढेलो सक्रिय छ ।
डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन ।
Comments