राजनीतिस्थानीय

बुढानिलकण्ठः एमालेलाइ विरासत जाेगाउन हम्मे, काँग्रेसलाइ उम्मेदवार तय गर्न हम्मे

0

काठमाडाैँ जिल्लाकाे धेरै जनसंख्या भएकाे नगरपालिकामध्येकाे एक बुढानिलकण्ठमा आगामी स्थानीय सरकारकाे बारेमा जाेडघटाउ शुरू भएकाे छ । पछिल्ला चुनावहरूमा एमालेकाे वर्चश्व रहने गरेकाे यस नगरपालिका साविकका ६ वटा गाविस(कपन महांकाल चुनिखेल चपली भद्रकाली खड्का भद्रकाली र बिष्णु बुढानिलकण्ठ) मिलेर बनेकाे हाे । ०५४ सालकाे स्थानीय तहकाे निर्वाचनमा यी सबै गाविसमा एमालेले विजय हासिल गरेकाे थियाे । ०७४ काे स्थानीयतह चुनावमा बुढानिलकण्ठ नगरपालिकाले  १३ वटामध्ये ११ वटा वडामासहित मेयर र उपमेयरमा एमालेले दुइतिहाइ बहुमतका साथ विजय हासिल गरेकाे थियाे ।

 

०७४ सालमा चपली भद्रकालीका पूर्व गाविस अध्यक्षसमेत रहेका एमाले नेता उद्धव खरेलले काँग्रेसका राजु श्रेष्ठलाइ फराकिलाे अन्तरले पराजित गर्दै मेयर बनका थिए । निर्वाचनमा अस्तव्यस्त संगठन तथा अन्तर्घातकाे केही क्रमसँगै काँग्रेस नराम्ररी पराजित भएकाे थियाे । काँग्रेसका पराजयमा धेरैले मेयरका लागि राजु श्रेष्ठ कमजाेर उम्मेदवारी भयाे भनेर टिप्पणी पनि गरेका थिए ।

 

आफ्नै कार्यकर्ताहरू वडाका जनप्रतिनिधि बनाएर करिब ५ वर्ष मेयरका रूपमा दुइतिहाइ बहुमतका साथ राज गरेका उद्धव खरेलले बुढानिलकण्ठमा एकलाैटी राज गरे तर जस लिने केही गर्न सकेनन् । टाउकाे उँचाे गरेर आफूले याे काम गरेँ भन्ने उदाहरण दिन सक्ने हैसियत खरेलले बनाउन सकेनन् । उनकाे पाँचवर्ष पूर्णतः असफल पाँच वर्ष भनेर चारैतिर(उनकाे पार्टीमासमेत) आलाेचना भैरहे पनि खरेलले दुइ वर्ष अघिदेखि नै आफूलाइ आगामी कार्यकालका लागि पनि उम्मेदवार भनेर प्रस्तुत गरिरहेका छन् । एमाले फुटेर कमजाेर भएकाे बेला उनी अर्काे कार्यकालका लागि मेयरकाे उम्मेदवार  हुने सम्भावना बढि नै छ । तर उनले पाँच वर्षमा केही गर्न नसकेकाे भनेर जनतामा जाँदा जनताले कसरी उनलाइ पत्याउने भन्ने ठूलाे प्रश्न भने देखिएकाे छ ।

 

यसका साथै एमाले फुटेर प्रभावशाली भनिएका सबै नेता नै समाजवादीमा गएकाेले खरेलले एमालेकाे विरासत थाम्न हम्मे हम्मे नै पर्ने देखिन्छ । कमजाेर संगठन र काम गर्न नसकेकाे अपजस बाेकेर खरेलले जनतालाइ आफूतिर आकर्षण गर्ने सक्ने एकमात्र कारण हुनसक्छ विपक्षी काँग्रेसकाे कमजाेर उम्मेदवार । यसपाला पनि काँग्रेस अघिल्लाे वर्षझैँ कमजाेर उम्मेदवारलाइ मेयर बनाएर भनेर चुनावी मैदानमा उत्रियाे भने यावत अप्ठ्याराबीच खरेलले नै बाजी मार्लान् कि भन्ने देखिन्छ । त्यसाे त एमालेबाट मेयर पदका लागि विदुरविक्रम खड्का र मिठाराम अधिकारीले खरेलले चुनाैति दिने सम्भावना रहेकाे छ । एमाले जिल्ला सचिवालय सदस्यसमेत रहेका खड्का अहिलेसम्म लाभकाे पद नपाएकाे नेताकाेरूपमा चिनिन्छन् भने पूर्व गाविस अध्यक्षसमेत रहेका मिठाराम अधिकारी पनि पार्टी भित्र पराेक्षरूपमा हेपिँदै आएका नेताकारूपमा चिनिन्छ । खरेल टेस्टेड एवम् असफल मेयर भैसकेकाे प्रमाणित भएकाेल अधिकारी वा खड्कामध्ये कसैलाइ मेयर उठाउन पर्छ भनेर पार्टीभित्र झिनाे आवाज पनि उठिरहेकाे देखिन्छ । त्यस्तै हाल उपमेयर रहेकी रमादेवी राइलाइ पनि मेयर पदमा प्रभावशाली दावेदारकाेरुपमा हेरिएकाे छ ।

 

बुढानिलकण्ठमा काठमाडाैँकाे क्षेत्र नं ४ र क्षेत्र नं ५ पर्दछ  । वडा विभाजकाे आधारमा बुढानिलकण्ठमा क्षेत्र नं ४ हावी भए पनि एमालेकाे आन्तरिक राजनीतिमा भने बुढानिलकण्ठमा क्षेत्र नं ५ का नेताहरूकाे हालीमुहाली रहने गरेकाे छ । क्षेत्र नं ५ का नेता इश्वर पाेखरेल सदैव क्षेत्र नं ४ का नेता  राजन  भट्टराइमाथि हावी देखिने  गरेकाे छ । एमाले काठमाडाैँ जिल्ला अध्यक्ष दीपक निराैला( जाे क्षेत्र नं ५ ख का निर्वाचित प्रदेशसभा सांसद हुन्) कै तजबिजमा बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवार तय हुने सबैले अनुमान गरेका छन् । धेरैले निराैलाले आफ्ना विश्वासपात्र प्रदीप डंगाेललाइ मेयर पदकाे उम्मेदवार बनाउन सक्ने भनेर आंकलनसमेत गरेका छन् ।

 

०७९ बैशाखमा हुने चुनावका लागि काँग्रेसका तर्फबाट यतिखेर आधा दर्जन नामहरु चर्चामा छन् । चर्चामा रहेका नामहरूमध्ये ०७४ काे चुनावमा उम्मेदवार बनेर फराकिलाे मतले पराजित राजु श्रेष्ठकाे नाम यसपाला यतिन्जेल चर्चामा छैन । तथापि पार्टीकाे वाग्मती प्रद्रेश महामन्त्रीसमेत बनेकाे श्रेष्ठले जित्छु कि भन्ने लाग्याे भने फेरि एकपटक आफूलाइ दाउमा हाल्ने सम्भावना राजु श्रेष्ठलाइ चिन्ने जाे काेहीले अनुमान गरिरहेका छन् ।

 

काँग्रेसका तर्फबाट यतिखेर उम्मेदवारकारूपमा चर्चामा रहेका व्यक्तिहरुमा नगर सभापति राजाराम बुढाथाेकी, महाधिवेशन प्रतिनिधिहरू विनाेद चालिसे, भाेला लामिछाने र अच्युत पाैडेल, काठमाडाैँ जिल्ला जिल्ला उपसभापति गाेकर्ण केसी र जिल्ला सचिव इन्द्र थापा प्रमुख छन् । यी नामहरूमा क्षमता दक्षताका आधारमा भन्दा पनि नेताकाे निकटका रूपमा टिकट पाउने नपाउने बारेमा यतिखेर चर्चा भैरहेकाे छ  । यी मध्ये सामाजिक एवम् राजनीतिक सक्रियता तथा मेयर बन्ने एजेन्डाका आधारमा काे उम्दा हाे भन्ने बारे भने टिकाटिप्पणी एवम् छलफल हुन सकेकाे छैन । विगतमा पार्टीलाइ असहयाेग गरेकादेखि राजनीतिमा भविष्य नसाेचेका पात्रसम्मलाइसमेत नेताका निकटताका आधारमा मेयरकाे सम्भावना भनेर चर्चा भैरहेकाे छ ।

 

नेपाली काँग्रेस बुढानिलकण्ठ नगरसभापति राजाराम बुढाथाेकीलाइ काठमाडाैँका दुइ नेता प्रकाशमान सिंह र गगन थापा दुवैकाे निकट व्यक्ति भएकाे भनेर चर्चा गरिन्छ । त्यसैगरी विनाेद चालिसेलाइ गगन थापा निकट नेता भनिने गरिन्छ । भाेला लामिछानेलाइ प्रकाशमान सिंह निकट नेताकाे रूपमा चिनाइन्छ भने अच्युत पाैडेललाइ कुन नेताकाे निकट भनेर स्पष्टरूपमा चिनाइएकाे पाइदैन । त्यसैगरी गाेकर्ण केसीलाइ नेता प्रकाशमान सिंहकाे निकट भनिने गरिएकाे छ । पार्टीलाइ  धरापमै पारेर भने पनि लाभकाे पद लिन खप्पिस भनेर आराेपित  इन्द्र थापा आफूलाइ सबै नेताकाे निकट भन्ने गरेकाे सुन्न पाइन्छ ।

 

नेपाली काँग्रेसबाट  माथि उल्लेखित नेताहरूमध्ये एकले टिकट हात पार्ने लगभग निश्चित छ  । यी आधादर्जन नाममध्ये सबैभन्दा गतिलाे काे ? भन्ने बारेमा भने कतै पनि छलफल वा तयारी भएकाे देखिदैन । यसका लागि नेपाली काँग्रेस केन्द्रिय समितिका महामन्त्री गगन थापा तथा प्रदेश महामन्त्री राजु श्रेष्ठले पनि कुनै खाले गृहकार्य गरेकाे देखिदैन । दुवै महामन्त्रीलाइ बुढानिलकण्ठमा जनबलले जित्ने नेता उत्पादनमा नलागेकाे आराेप लाग्ने गरेकाे छ ।

काेसी टप्पुमा वन्यजन्तु आरक्षभित्र सिमसार जाेगाउने प्रयास सुरू

Previous article

बुढानिलकण्ठमा काँग्रेसकाे मेयर उम्मेदवार काे ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *