– केशव पाठक
बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ । वर्तमान संबिधानअन्तर्गत याे दाेस्राे स्थानीय चुनाव हाे । याे चुनावकाे मिति तयसँगै एकातिर याे पाँचवर्ष शासन चलाएका जनप्रतिनिधिकाे निर्मम समिक्षा गर्न पर्ने भएकाे छ भने अर्काेतिर अागामी कार्यकालका लागि बनाइने जनप्रतिनिधिका लागि उम्मेदवार तय गरेर उनीहरूलाइ मतदान गर्ने मनशाय भाव ल्याउनु पर्नेछ ।
हाम्राे सामाजमा जनप्रतिनिधिकाे उम्मेदवार त्यही हुने गरेकाे छ जाे पार्टीले पत्याएकाे व्यक्ति हाे । अनि, पार्टीले पत्याउने आधार भनेकाे उ कति पुरानाे नेता हाे ? उ पार्टीमा कुन नेताकाे निकट छ वा कुन गुटकाे मानिस हाे ? पार्टीका शक्ति केन्द्रमा उ कत्तिकाे धाउन सक्षम छ ? बेलाबखत नजराना भेटी कत्तिकाे चढाउन सक्षम छ ? उसले चुनावमा टिकट लिनदेखि चुनावी प्रकृयामा कति खर्च गर्न सक्छ ?
यी वा यस्तै आधारमा एक व्यक्तिले चुनावी टिकट हात लाउने चलन छ । यी आधारबाहेक कतैकतै उसकाे कृयाशीलता तथा व्यक्तित्व, नैतिकता तथा चारित्रिक विषयसँग उसका याेजना एवम् सक्षमता पनि विषय बन्ला तर आमरूपमा नेताकाे फेराे समातेकाे नै आधारमा टिकट पाउने गरिन्छ । याे स्थानीय तथा केन्द्रसम्मकाे राजनीतिकाे समान अवधारण हाे ।
उपर्युक्त अवधारणाका आधारमा टिकट पाएर उम्मेदवार भएका व्यक्ति हाम्रा जनप्रतिनिधि हुँदा हाम्रा स्थानीय तहले के कति फाइदा वा वेफाइदा याे जगजाहेर छ । स्थानीय तहमा माथिका अवधारणमा टिकट पाएका अाम व्यक्तिहरूमा ठेकेदार, दलाल, शिक्षक, गुण्डा वा यस्तैयस्तै पृष्ठभूमिका व्यक्तिहरू परेका छन् । यी व्यक्तिहरूले गाउँकाे सिंहदरबार चलाउँदा व्यक्तिगत दुनाे साेझ्याउनेबाहेक केही गरेकेा हामीले देखेनाैँ वा देखिएन । यी जनप्रतिनिधिले विकासकाे साेचबिना नै पाँच वर्ष बिताए, जसले दीर्घकालिनरूपमा विकास हैन विनासमात्र निम्त्याए ।
बितेका करिब पाँचवर्षमा विकासका गरियाे भनिएका नाली, सडक, सामुदायिक भवन, मठमन्दिर, पार्क, भ्युटावरहरूसहित विभिन्न सरकारी प्रशासनिक भवनहरू के खासमा विकासका द्याेत्तक हुन् त ? के यी कुराहरू हाम्रा पालिकाकाे विकासका याेजनाका आधारमा बने त ? के यी विकास भनाउँदा अर्डिनरी डेटा हाम्राे स्थानीय तहकाे भूगोल सुहाउँदो र आउँदाे पुस्ताका लागि भनेर विवेकी ढङ्गले भयाे त ?
हाम्रो विकासको प्राथमिकता के-कस्ता विषयहरूमा हुनुपर्ने थियो भन्ने कुरामा पाँचवर्षअघि हामीले चुनेर पठाएकाे प्रतिनिधि एकाध अपवादबाहेक हरकाेही चुकेका छन् । समग्रमा हामीले जनप्रतिनिधिका लागि याेग्य उम्मेदवार तय गर्न र चुन्नमा भूल गरिरहेका छाैँ । उम्मेदवारकाे हैसियत, ल्याकत, अाैकातभन्दा उ उठेकाे पार्टीलाइ महत्व दिँदा हामीले विनाश निम्त्यायाैँ । ०५४ सालकाे स्थानीय निकायलेभन्दा तात्विकरूपमा गत वर्षमा स्थानीय तहले कुनै गतिला काम गर्न सकेनन् । कतिपय अबस्थामा पार्टीहरूलाइ सही मानिस उम्मेदवार बनाउन पर्छ भन्ने भावना तथा दवाव जागृत गर्न सकेनाैँ ।
यसको मतलब कस्ता जनप्रतिनिधि चुन्ने वा कस्ता जनप्रतिनिधिलाई जिताउने भन्ने कुराको निर्णायक भूमिकामा हामी चुकिरहेका छौं । त्यसैले हामी र हाम्रो परिवारबाट चुनिएका नेता तथा जनप्रतिनिधिले देश खत्तम पारे भनेर अझै विलौना गरेर अब केही हुनेवाला छैन । अबको निर्वाचन पनि नेता तथा जनप्रतिनिधिहरूले केहि गरेनन् भनेर गाली गर्नुपर्ने परिस्थिति नआओस् भनेर बेलैमा सचेत बन्न सबै नेपालीले ध्यान दिए परिवर्तन हाम्रैपालामा सम्भव छ । याे यस्ताे बेला हाे, यतिखेर बल अब जनताकाे कोर्टमा छ । अाफ्नै काेर्टमा बल हुँदा सानाे मिस्टेकले फेरि ५ वर्ष हारिनेछ भने अलिकति बुद्धि पुर्यायाे भने धेरै महत्वपूर्ण काम हुनेछ ।
उम्मेदवारी मनाेनयनपत्र दर्ता अघिका यी करिब ४५ दिन जनताले गर्ने रखवारी, दबाव वा चेतनाले पार्टीहरू सुध्रने अवसर पाउनेछन् भने जाे पायाे त्यही उम्मेदवारकाे दावी गर्ने गैरजिम्मेवारीपूर्ण कार्य पनि निस्तेज हुन्छ । जाग जनता ।
Comments