लमजुङको दोर्दी गाउँपालिका–१ भारते सिरबारीकी सावित्री अधिकारीलाई गाउँमा रहँदा पानीको लागि कुवा धाउनुपर्थ्यो । बिहानै उठेर एक गाग्री पानी लिन उहाँ गाउँमा रहेको सालघारी कुवामा पुग्नुपर्थ्याे ।
१२ वर्षसम्म सिरबारीमै रहँदा प्रायः उहाँको पहिलो काम नै कुवा पुगेर पानी ल्याउँथिन् । ‘त्यो समयमा छिट्टै कुवामा नपुगे अरुले नै पानी लिएर गइसक्थे । त्यसैले समयमै कुवामा पुग्नुपर्थ्यो,’ उनले भनिन् । उनको मात्र नभइ विगतमा ग्रामीण क्षेत्रमा रहेका अन्य महिलाहरूलाई पानीका लागि कुवा, धारा, पँधेरा, ढुङ्गेधारा धाउनुपर्ने बाध्यता थियो । दुःख थियो ।
दुःख भए तापनि दिदीबहिनी, साथीभाइ भेट्ने, भलाकुसारी गर्ने, मेलापातका कुरा गर्ने थलो थिए, गाउँमा रहेका कुवा, धारा, पँधेरा । ‘पानीकै लागि कुवा, पँधेरो धाउनुपर्थ्यो । दुःख थियो । तर दुःख भए तापनि दिदीबहिनी भेट्ने, भलाकुसारी गर्ने ठाउँ नै पानी पँधेराे थिए । रमाइलो हुन्थ्यो,’ अधिकारीले भनिन् ।
तर अहिले गाउँगाउँमा सडक विस्तार, बसाइँसराइ, बदलिँदो आधुनिक जीवनशैली लगायत थुप्रै कारणले गाउँले जीवन, परिवेशसँग गाँसिएका परम्परागत तथा ऐतिहासिक सम्पदा गाउँका कुवा, पँधेरा, ढुङ्गेधारा हराउँदै जान थालेकोमा उहाँलाई नरमाइलो लाग्छ ।
पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै गाउँकै मानिसहरु पानीका लागि पँधेरा र ढुङ्गेधारा धाउनै छाडेका लमजुङका सुन्दरबजार नगरपालिका–९, भोटेओडार पैह्रेका ४८ वर्षका अमृत भुजेलले बताए ।
विगतमा पानीको लागि कुवा, पँधेराे, ढुङ्गेधाराको भर पर्नुपर्थ्यो । ‘समयको क्रमसँगै नागरिकले पानीको माग गर्न थाले । गाउँका बीचमा सार्वजनिक धारा राख्न थालियो । बिस्तारै पछि मान्छेले घरघर हुँदै कोठाकोठामा पानीको धारा जोड्न थाले,’ उनले भने, ‘कुवा, पँधेराे धाउनै छाडे । संरक्षण नभएपछि अहिले ती सम्पदाहरु हराउँदै गए ।’
गाउँ/गाउँमा सडक सुविधा पुगेसँगै पक्की घर धमाधम निर्माण हुन थालेका छन् । घरमा धारामा पानी पुगेका छन् । घरभित्रै बाथरुम, शौचालय र भान्छामा नै पानीको धारा पुगेको छ । एक गाग्री पानीकै लागि घण्टौँको बाटो धाउनुपर्ने, धारापँधेरामा पालो पर्खनुपर्ने झन्झट अहिलेका पुस्तालाई छैन । समय र प्रविधिको विकाससँगै मानिसलाई सुख सुविधा भएको छ ।
ऐतिहासिक, सांस्कृतिक महत्त्वका सम्पदा जोगाउनु आवश्यक भएकाे तर ग्रामीण पहिचान र परिवेशसँग जोडिएका यस्ता सम्पदा हराउँदै गएका छन् । परम्परागत पँधेरा र ढुङ्गेधाराहरु संरक्षण गर्नुपर्ने, यसमा सबैको ध्यान जानुपर्ने लमजुङ भोटेओडारकी राधिका लामिछाने बताए ।
‘संरक्षण–संवर्द्धनकाे अभावमा हराउँदै गएका परम्परागत, सांस्कृतिक एवम् ऐतिहासिक, महत्त्वका कुवा, पँधेरा र ढुङ्गेधाराहरु जोगाउनु आवश्यक छ,’ उनले भने । उज्यालाे अनलाइन
Comments