वातावरण

वातावरण/पर्यावरण संरक्षणमा नारी भूमिका

0

  • सुशीला शर्मा

प्रचण्ड गर्मीमा पनि तराईका समथर खेतमा किसान, अझ ज्येष्ठ महिला गोडमेल गरिरहेका हुन्छन्। घामको रापभन्दा पनि आफूले लगाएका फसल कस्तो मौलाउँछ र फैलिन्छ भन्ने ध्याउन्न किसानहरूलाई हुन्छ। अनि पहाडको काम पनि उस्तै हुन्छ, भौगोलिक रूपमा अझ कठिन। बिहान घाँस काट्न एउटा डाँडाबाट अर्को जङ्गल भएको डाँडामा जानुपर्ने। महिलाहरू नै बढी सक्रिय हुन्छन् घाँसपात मेलापर्ममा। कुनै पनि वेला पानी पर्ने, भेल बाढी आउने।

पहाडका महिलाहरूका अन्य गाह्रोसाह्रो भनेको टाढासम्म पानी बोक्न जानुपर्ने, पानीका मुहान कस्ता छन्, प्रदूषित छन् कि छैनन्, ती कुराभन्दा पनि सङ्लो पानी उठाएर ल्याई घरमा भातभान्सा र पिउने पानीको व्यवस्था गर्नुपर्ने। अनि महिनावारी हुँदाका बखत उचित सरसफाइ गर्न पर्याप्त पानी नहुनु, गर्भवती अवस्थामा पनि पानी लगायत घाँसदाउराका भारीहरूले अनेकन् स्वास्थ्य समस्या निम्तिने खालका समस्या अझै बाँकी छन्।

महिला शुद्ध पिउने पानी, हावा र जमीनका लागि सङ्घर्षरत छन्। यी समस्यामा केही कमी आए पनि अझै पनि विकट भौगोलिक क्षेत्र, समुदायका महिलाको दिनचर्या कष्टपूर्ण छ। महिलाहरू पशुपालन र घाँसदाउरा गर्छन्। यो उनीहरूको दिनचर्या र आर्थिक आर्जनको पाटो पनि हो। तर, अधिकांश महिला जो सम्बन्धित ठाउँबाट घाँसदाउरा गरिरहन्छन्, त्यहाँ नयाँ बोटबिरुवा नलगाउँदा त एक किसिमले जमीन उजाड हुँदै जाने नै हुन्छ।

यस्तै सानातिना लाग्ने तर एउटामा असर परेपछि सम्बन्धित भएर कैयौं प्राकृतिक विपत्ति त एक सामान्य परिवार, समाज अनि राज्यले नै भोग्नुपर्ने हुन्छ। यी कुरामा सचेतना, तालिम, पुरस्कार, उत्प्रेरणाबारे पनि हामीले कुरा गरिरहेको पर्यावरणीय नारीवादले सोच्दछ या सोच्नुपर्नेछ। महिलाहरू जो आर्थिक रूपले पछाडि छन् अनि सचेतनाको हिसाबले पनि पुरुषका तुलनामा पछाडि नै छन्।

अझ कतिपय सवालमा महिलाको सामाजिक स्थिति नाजुक नै छ। यो विकसितदेखि लिएर हाम्रो जस्तो गरीब राष्ट्रमा झन् बढी छ। हामीले गाउँघरमा खेती किसानी गर्ने महिलादेखि लिएर शहरमा घरका छतमै या गमलामै पनि प्रकृति उमार्ने, फलाउने र फुलाउने महिलालाई प्रोत्साहित र सम्बन्धित विषयमा सहभागी गराउँदै जान सकेमा पर्यावरण र महिलावादका सवाललाई अझ माथि उठाउन सहयोग नै पुग्ने देखिन्छ।

अध्ययनहरूले देखाए अनुसार, रेडिएसनबाट पुरुषको तुलनामा महिला नै बढी प्रभावित छन्। प्रकृतिलाई स्त्रीलिङ्गी सम्बोधन पनि गरिन्छ। यो मानव निर्मित भाष्य नै किन नहोस्। जब परिवार संस्थाको विकास हुँदै गयो, महिलाको भूमिका जीवन उन्मुख व्यक्तित्वमा परिवर्तन हुँदै गयो। हेरविचार गर्ने, सङ्ग्रह गर्ने, परिवारका सदस्यलाई खुवाउने, पिलाउने आदि। बाहिर जमीनमा फलाउने, फुलाउने अनि घरभित्र ती फलेका अन्न आदिले परिवारका सदस्यलाई भोक मेट्नका लागि खाद्यान्न तयार गर्ने। यो एउटा महिलाको पारिवारिक, सामाजिक र सांस्कृतिक भूमिका जस्तै नै भयो, लामो कालखण्डसम्म पनि। आज पर्यन्त महिलाको भूमिकामा यस्तै हेरचाहकर्मी नै हावी हुन्छ।

महिला र प्रकृति भन्ने बित्तिकै महिलाले प्रकृतिमा बिताउने समय र गर्ने कामलाई नै बुझ्नु उचित हुन्छ। व्यावसायिक खेती प्रमुख रूपले पुरुषहरूले गर्दछन्। अझ भनौं, प्रायः पुरुषकै निगरानी र निर्देशनमा व्यावसायिक खेती हुने गरेको छ। नगरपालिकाको कृषि विभागमा गएर केही बेर अवलोकन गर्‍यौं भने पनि थाहा पाउन सक्छौं कि त्यहाँ पुरुष किसान नै मलखाद, बीउ, घाँस, कृषि ऋणको विषयमा कुरा गरिरहेको पाउँछौं।

किसानको सामूहिक तालीममा पनि पुरुष नै देखिन्छन्। तर, यसको तुलनामा महिला किसानले थोरै बस्तुभाउ पाल्छन्। अनि आफ्ना वरिपरि जे पाइन्छ, त्यही घाँसपात घरपालुवा बस्तुभाउलाई खुवाउँछन्। ती घाँस बढ्दा वातावरण परिवर्तनका कारण प्रदूषित या विषाक्त पनि भएका हुन सक्छन् र बस्तुभाउलाई विभिन्न रोगव्याधि लागिरहेको हुन्छ।

यो एउटा सानो उदाहरणले पनि महिला कसरी प्रत्यक्ष वातावरण परिवर्तनसँग सरोकार राख्छन् भन्ने प्रस्ट्याउँछ। नेपाल लेबर फोर्स सर्वे २०१७/१८ का अनुसार, ६१ प्रतिशत महिला गुजारा हुने खालको कृषिकार्यमा संलग्न छन् भने सोही कार्यमा पुरुषको ४७ प्रतिशत संलग्नता छ।

समयमै मौसम सम्बन्धी भविष्यवाणीको सूचनाबाट पनि महिला विमुख नै हुन्छन्। यसले उनीहरूलाई कृषिमा विकल्प अपनाउन पनि ढिलो गराउँछ। त्यस्तै, महिलासँग स्वतन्त्र आम्दानीको कमी हुन्छ र ऋण सुविधा प्राप्त गर्न पनि कठिन हुन्छ। यद्यपि, महिलाले कृषिका अधिकांश कार्य गर्दछन्। तीमध्ये धेरै कम महिलाले आफूले खेती गरेका जमीनको अपनत्व ग्रहण गरेका हुन्छन्। यावत् कारण महिलाका निर्णय क्षमतामा कमी आउन सक्छ।

हुन त लैङ्गिकताको अवधारणा सहित वन तथा वातावरण मन्त्रालयले सामाजिक समावेशिता, वातावरण परिवर्तनका विषयलाई राखेर रणनीति र कार्ययोजना पनि बनाएको छ। तर, अझै यो लागू हुन भने सकिरहेको छैन।

लैङ्गिक तथा अल्पसङ्ख्यकसँग काम गरिरहेका विभिन्न संघसंस्थाले नेपालमै पनि वातावरण परिवर्तन र महिलाका सवाललाई उठाउने काम गरिरहेका छन्। गरीबी, असमानता, जातीयता, विभेद, अन्धविश्वासी संस्कार, असचेतना भोगिरहेका नेपाली महिलाले वातावरणदेखिका विषय उठान गर्दै अगाडि बढ्नु आवश्यक छ।

काठमाडाैँका जनप्रतिनिधिले नदी तथा पानीकाे महत्व नबुझ्दा नीतिगतरूपमै नदिनाला मासेर बाटाे बने

Previous article

मुलसाम जोड्ने निर्माणाधीन सडक

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *