हाम्रो जीवनमा जैविक विविधताको निकै महत्त्व हुन्छ । हामीले एउटा यस्तो पर्यावरणको निर्माण गर्नुछ जसले जैविक विविधतामा समृद्ध, टिकाउ र आर्थिक गतिविधिका लागि हामीलाई अवसर प्रदान गर्न सकोस् ।
जैविक विविधताको कमी हुँदा बाढी, पहिरो, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको खतरा अत्यधिक हुन्छ । त्यसैले हाम्रा लागि जैविक विविधताको संरक्षण अत्यन्तै महत्वपूर्ण पक्ष हो ।
लाखौं विशिष्ट जैविकका कैयौं प्रजातिहरुको रूपमा पृथ्वीमा जीवन छ र हाम्रो जीवन पनि प्रकृतिको अनुपम उपहार हो । त्यसैले बोट–विरुवा, विभिन्न प्रकारका जीव–जन्तु, माटो, हावा, पानी, महासागर, समुन्द्र–नदीजस्ता प्राकृतिक देनको हामीले संरक्षण गर्नुपर्छ । किनकि, यही हाम्रो अस्तित्व र विकासका लागि काममा आउने कुरा हुन् ।
प्राकृतिक एवं पर्यावरण सन्तुलन कायम राख्न जैविक विविधताको महत्त्व देखेर नै यो दिवस अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको हो ।
नेपाल भित्रिने कुल पर्यटकमध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आएको तथ्यांकले देखाउँछ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा अन्य संरक्षित क्षेत्रमा हरेक वर्ष कम्तीमा ५३ करोड रुपैयाँभन्दा बढी राजस्व पर्यटकहरूबाट संकलन भइरहेको छ । विश्वसम्पदा सूचीमा चितवन, सगरमाथाजस्ता संरक्षित क्षेत्र पर्न सफल भएका छन् ।
विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटालगायतका क्षेत्र सूचीकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् । त्यसैले यस वर्षको नारालाई साकार पार्न सके नेपालको पर्यटन विकास र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने देखिएको छ ।
संयुक्त राष्ट्रसंघको सन् २००० को डिसेम्बरमा बसेकोे साधारणसभाले मे २२ लाई जैविक विविधता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता राष्ट्रसंघका पक्षराष्ट्रहरूले जैविक विविधताको संरक्षण, सदुपयोग र न्यायोचित वितरणसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी यो दिवस मनाउने गरेका छन् । नेपालले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
जैविक विविधता महासन्धिले जैविक विविधताको संरक्षण, त्यसको दिगो उपयोग र त्यसको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्ने तीनवटा उद्देश्य राखेको छ । महासन्धिले निर्दिष्ट गरेको उद्देश्यअनुरूप काम गर्न जनचेतना जगाउने, त्यससँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने दिवसको प्रमुख उद्देश्य हो ।
Comments