हिन्दूकुश हिमालय पर्वत क्षेत्रका ग्रामीण बासिन्दाहरूका लागि बस्ती वरपर रहेका मूल नै पानीका मुख्य स्रोत र जीविकोपार्जनका आधार हुन्। नेपालमा पनि हिमाली, पहाडी र चुरे क्षेत्रमा पानीका धेरै मूल छन् र यहाँका एक करोडभन्दा बढी मानिस पानीका लागि तिनै मूलमा आश्रित छन्। पानीका मुहान स्थानीयका लागि पानीका मुख्य स्रोत मात्र होइनन्, महाभारत र चुरे क्षेत्रका खोला तथा नदीका स्रोत पनि हुन्।
नेपालका मुख्य नदीहरूलाई बाह्रैमास सदाबहार रूपमा बग्नका लागि मुहानको राम्रै योगदान छ, तर तिनै मूल सुकेर हिमाल, पहाड, चुरे क्षेत्र एवं पूरै हिन्दूकुश पर्वतमा पानीको सङ्कट बढ्न थालेको छ। मूल सुकेका कारण स्थानीयले थातथलो छोड्न थालेका छन्। पालिकाहरूले आफ्नो क्षेत्रका कतिपय क्षेत्रका स्थानलाई सुक्खा घोषणा गरेर महँगा खानेपानी आयोजनाको खाका बनाइरहेका छन्। विगतमा अप्रचलित लिफ्ट, बोरिङ, डिप ड्रिलिङ जस्ता प्रविधि उपयोग गर्न थालिएको छ।
परापूर्वकालदेखिका सार्वजनिक जग्गा, धाप, चौतारीमा सिमेन्ट-कङ्क्रिटका पक्की संरचना बनाउँदा पुनर्भरणमा कमी भएको छ भने सधैं पानी हुने सदाबहार मुहान मौसमी बन्न पुगेका छन्।
यसरी खानेपानी आयोजनाले अन्य क्षेत्रमा हुने लगानीलाई सीमित पारिदिएको छ। चिन्ताको अर्को कुरा के छ भने खानेपानी आपूर्तिका लागि ‘अपरिहार्य विकल्प’ का रूपमा सञ्चालित त्यस्ता आयोजनामा प्रयुक्त प्रविधि मूल सुकाउने मुख्य कारक पनि बन्न थालेका छन्। तसर्थ, मुहानलाई जोगाउँदै पानीको मात्रा बढाउन र मुहान बचाउन पानीका मुहान तथा मूलाधार संरक्षण सम्बन्धी प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता छ।
नेपालका हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन्। यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन्। चार महीना भारी वर्षा हुने र बाँकी आठ महीना सुक्खा हुने नेपालमा बाह्रै महीना पानी उपलब्ध गराउन र खोलामा बगिरहने पानीको मात्रा कायम गर्न पनि मुहानको पानी अत्यावश्यक छ।
पहाडी भेगको भौगोलिक विकटता र बस्ती माथिल्लो भागमा र खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन। लिफ्ट सिस्टम जस्ता प्रविधिको प्रयोग सहज छैन। एक त सो प्रविधि महँगो छ, अर्को त्यसको सञ्चालनको पनि झन्झट छ। त्यसैले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प हो।
तर, पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो छ। यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार छन्। पानीको अभावमा पहाडी जनजीवन कष्टकर बन्दै गएको छ। नेपाल पानी सदुपयोग फाउन्डेशन (एनडब्लूसीएफ) ले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) सँगको सहकार्यमा तराई-मधेश बाहेक नेपालका तीन सय पालिकामा गरेको सर्वेक्षणले (तस्वीर १) करीब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने समस्या पाइएको थियो भने ५८ प्रतिशत पालिकामा मूल सरेको पाइएको थियो।
Comments